कास्की २ का सांसद उत्तमप्रसाद पौडेललका कास्कीका करिब ६० कार्यलयका प्रमुखसँग छलफल गर्दै आमजनताले पाउनु पर्ने सेवा सुविधालाई ध्यानमा राखेर काम गर्न अनुरोध गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीको सभाहलमा उपस्थित प्रमुखहरुलाई निर्देशन दिँदै भनेका छन् ‘तपाइहरुको कार्यालयमा बिचौलिया र भनसुनका आधारमा सेवा दिने गरेको गुनासो आए परिणाम भोग्न तयार रहनुहोला ।’
हिजोको दिनमा कुनै दल, नेता वा मन्त्रीप्रति उत्तरदायी हुनुपर्ने अवस्थाको अन्त्य भएको बताउँदै सांसद पौडेलले कर्मचारीहरु स्वतन्त्ररुपमा काम गर्ने वातावरण भएको उल्लेख गरे । तपाइहरु पूर्णतः स्वतन्त्र हुनुहुन्छ तर सेवाग्राहीलाई गुनासो गर्ने ठाउँ भने नदिनुहोला ।
अब सरकारी निकायको कार्यशैलीमा आमूल परिवर्तन आवश्यक रहेको बताउँदै पौडेलले विगतमा नेताको पहुँच, भनसुन र चिटका आधारमा हुने कामको संस्कृतिलाई तत्काल अन्त्य गर्नुपर्ने धारणा राखे ।
सांसद पौडेलले कर्मचारी र जनताबीचको दूरी घटाउनुपर्ने उल्लेख गर्दै बारम्बार गुनासो आउने अवस्थालाई गम्भीर रूपमा लिन आग्रह गरे।
अब कुनै पनि सेवा चिटका भरमा होइन, विधि र प्रक्रियाअनुसार हुनुपर्छ,’ उनले भने ‘यदि कुनै पनि कार्यालयबाट सेवा दिन ढिलाइ वा झन्झट भयो भने सम्बन्धित निकायमा सिधै उजुरी गर्नुस्, म स्वयं पनि त्यसमा संलग्न हुनेछु।’
२२ वर्षको पत्रकारिता अनुभवको आधारमा उनले गलत परम्परालाई पखाल्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।
छलफलमा सांसद पौडेलले सुशासन नारामा मात्र सीमित नभई हरेक सरकारी कार्यालयको व्यवहार र सेवा प्रवाहमा देखिनुपर्नेमा जोड दिए। ‘जनताको गुनासो सुन्ने पहिलो जिम्मेवारी तपाईंहरूको हो, जनताले मसम्म आउनु पर्ने अवस्था आउनु हुँदैन,’ उनले स्पष्ट पारे।
उनले कार्यालयभित्र विचौलियाको चलखेल, दादागिरी र कोठा–कोठा धाउने प्रवृत्ति अब सह्य नहुने चेतावनी दिए। सेवा प्रवाहलाई पारदर्शी, सरल र जनमुखी बनाउन कर्मचारीहरूलाई निर्देशन दिँदै उनले विगतका गलत अभ्यासहरूलाई त्याग्न आग्रह गरे।
बैठकमा सुरक्षा निकायलाई समेत विशेष निर्देशन दिँदै पोखरालाई शान्त, सुरक्षित र पर्यटकमैत्री बनाउन उनले जोड दिए । विगतमा भएका घटनाबाट पाठ सिक्दै यस्ता दुर्घटना हुन नदिन सबै सचेत रहन उनको आग्रह थियो ।
छलफलमा मुलतः मालपोत, यातायात, खानेपानी, सुरक्षा, स्वास्थ्य, विपद् र राजश्व कार्यालयबाट हुने सेवाप्रति सांसद पौडेलको चासो रहेको थियो ।
छलफलको सहजीकरण गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कास्कीको वर्तमान अवस्था एवं प्रशासन कार्यालयले सेवाग्राहीको सहजताकालागि अपनाएको कार्यशैलीबारे जानकारी गराएकी थिइन् ।
उक्त अवसरमा विभिन्न कार्यालयका प्रमुखले कार्यालयको विवरण, उद्देश्यबारे अवगत गराउँदै झेल्नुपरेको कठिनाईसमेत दर्शाएका छन् ।







