तनहुँको बन्दीपुरमा वैशाख १८ देखि १९ गतेसम्म दुईदिने ‘गाउँ पर्यटन मेला-२०८३’ आयोजना हुने भएको छ ।
गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनलाई थप टेवा पुर्याउने उद्देश्यले नेपाल पर्यटन बोर्ड गण्डकी र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजनामा मेला हुन लागेको हो ।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सह–आयोजनामा हुन लागेको सो मेलाले सरकारले लिएको वार्षिक २५ लाख पर्यटक भित्र्याउने र पर्यटन क्षेत्रको योगदान ७ प्रतिशत पुर्याउने लक्ष्यलाई टेवा पुर्याउने विश्वास आयोजकको छ ।
गाउँ पर्यटन मेलाका बारेमा जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले गाउँ पर्यटनलाई सशक्त बनाउने उद्देश्यसहित मेला आयोजना गर्न लागिएको बताए ।
आयोजकका अनुसार ‘गाउँ पर्यटनबाट समृद्धिको यात्रा’ र ‘बन्दीपुर पर्यटन: हिजो, आज र भोलि’ विषयमा प्यानल छलफल आयोजना गरिनेछ । विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति, सूचना तथा प्रचार सामग्री वितरण लगायतका कार्यक्रम पनि समावेश गरिएका छन् ।







