अमेरिकन यूथ काउन्सिलकै शैलीमा चीनद्वारा ‘यूथ पायोनियर’ सुरु

काठमाडौँस्थित चिनियाँ दूतावासले नेपालका ऊर्जावान् र प्रतिभाशाली युवाहरूलाई लक्षित गर्दै ‘यूथ पायोनियर’ (चिनियाँ दूतावास युवा अग्रगामी कार्यक्रम)को औपचारिक घोषणा गरेको छ ।

यो कार्यक्रम विशेष गरी नेपालको सामाजिक-आर्थिक विकासमा योगदान पुर्‍याउन चाहने र नेतृत्वदायी भूमिका खोजिरहेका युवाहरूलाई केन्द्रित गरेर ल्याइएको हो । नेपाल र चीनबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई युवा पुस्तामार्फत अझ उचाइमा पुर्‍याउने उद्देश्यले यो पहल सुरु गरिएको हो ।

यूथ पायोनियरको लक्ष्य र उद्देश्य नेपालस्थित अमेरिकन राजदूतावासकै मोडलमा अघि बढाइएको बुझ्न सकिन्छ ।

यस कार्यक्रमले नेपाली युवाहरूलाई आधुनिक विश्वका चुनौतीहरू सामना गर्न र आफ्ना नवीन विचारहरूलाई कार्यान्वयन गर्न एउटा साझा मञ्च प्रदान गर्ने विश्वास लिइएको छ ।यस कार्यक्रमको मुख्य ध्येय युवाहरूमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउनु र उनीहरूलाई परिवर्तनको संवाहक का रूपमा तयार गर्नु हो ।

यसमा सहभागी हुने युवाहरूले नेतृत्व विकासका विभिन्न तालिमहरू प्राप्त गर्नुका साथै नेपालको राष्ट्रिय समृद्धिका लागि महत्वपूर्ण प्रभाव पार्न सक्ने परियोजनाहरूमा संलग्न हुने अवसर पाउनेछन् । यस कार्यक्रममार्फत युवाहरूले नेपालको दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न र स्थानीयस्तरमा सकारात्मक प्रभाव पार्ने कार्यहरूमा सक्रिय भूमिका खेल्नेछन् ।

चीनले हासिल गरेको विकासको अनुभव र प्रविधिलाई नेपाली सन्दर्भमा कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे पनि यस कार्यक्रमले युवाहरूलाई मार्गदर्शन गर्नेछ ।इच्छुक नेपाली युवाहरूले चिनियाँ दूतावासको आधिकारिक वेबसाइटमा गएर तोकिएको ढाँचामा आफ्नो आवेदन दर्ता गराउन सक्नेछन् ।

आवेदनका लागि आवश्यक योग्यता, छनोट प्रक्रिया र अन्य विस्तृत जानकारीका लागि दूतावासले जारी गरेको आधिकारिक सूचनाको लिङ्क प्रयोग गर्न आग्रह गरिएको छ ।

Scroll to Top