सरकारको स्वास्थ्य प्रगति विवरणमा विपन्नलाई निःशुल्क उपचारदेखि एयर एम्बुलेन्स सेवासम्म

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शासकीय सुधारका १०० बुँदामध्ये स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयले आज उक्त विवरण सार्वजनिक गर्दै विपन्नका लागि निःशुल्क उपचार, एयर एम्बुलेन्स र अस्पताल सुधारमा भएका उपलब्धिहरू उल्लेख गरे ।

विपन्न, असहाय र बेवारिसे नागरिकको उपचारमा पहुँच सुनिश्चित गर्न र अस्पतालहरूको सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न मन्त्रालयले ‘फ्री हेल्थ पोर्टल’ संचालनमा ल्याएको छ । हालसम्म १५ वटा अस्पतालले कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउने विवरण यस पोर्टलमा प्रविष्ट गरिसकेको मन्त्रालयले जनाए ।

दुर्गम पहाडी क्षेत्रमा आपतकालीन स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्सलाई ‘स्ट्यान्डबाई’ राखिएको छ । यसका लागि ११ वटा हेलिकप्टर कम्पनीहरू सहुलियत दरमा ‘मेडिकल इभाकुएसन’ सेवा उपलब्ध गराउन सहमत भएका छन् ।

यसैगरी जलनका बिरामीको प्रभावकारी उपचारका लागि ९ वटा संघीय अस्पताल र सातै प्रदेशका १४ गरी जम्मा २३ वटा अस्पतालमा सेवा संचालनको तयारी पूरा भएको छ ।

सरकारी अस्पतालहरूमा स्वास्थ्यकर्मीको उपस्थिति, व्यवहार, सरसफाइ र सेवाको आधारभूत मापदण्ड सुनिश्चित गर्न ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ लागू गरिएको छ । यसअन्तर्गत ३० वटा अस्पतालमा सरसफाइ, कर्मचारी उपस्थिति र गुनासो सुनुवाइका लागि ‘फोकल पर्सन’ तोक्ने कार्य सुरु भइसकेको मन्त्रालयले बताए ।

गुनासो व्यवस्थापनका लागि ‘क्युआर कोड’ बाट प्राप्त ३१२२ वटा गुनासोमध्ये २६७१ को विश्लेषण गरी समाधानका लागि सम्बन्धित अस्पताल तथा निकायहरूसँग समन्वय भइरहेको छ ।

सुधारका अन्य प्रयासहरूअन्तर्गत सरकारी अस्पतालका फार्मेसीहरूमा औषधिको मौज्दात र मूल्य देखिने डिजिटल प्रणाली र ‘सुलभ फार्मेसी’ संचालनको कार्य आरम्भ गरिएको छ ।

अनावश्यक रूपमा निजी अस्पतालमा रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्न ‘प्रेषण निर्देशिका २०८२’ बमोजिम अस्पतालहरूले आफ्नै प्रोटोकल बनाई कार्यान्वयन सुरु गरेका छन् ।


Scroll to Top