४ करोड ५० लाख ठगी मुद्दामा स्याङ्जाका पंगेनीद्वय पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ४ करोड ५० लाख रुपैयाँ ठगी गरेको मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ६२ वर्षीय शान्तीरमण पंगेनी र ५८ वर्षीया टिका पंगेनी रहेका छन् ।

कमल प्रसाद ज्ञवालीको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी शान्तीरमण पंगेनी समेत भएको ठगी सम्बन्धी कसुर मुद्दामा उनीहरू फरार रहेका थिए ।

उनीहरूलाई कास्की जिल्ला अदालतले ०८० चैत ५ गते पक्राउ पुर्जी जारी गरेको थियो । सम्मानित अदालतबाट पुर्जी जारी भएपछि फरार रहेका उनीहरूको खोजतलास गर्ने क्रममा प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।

कार्यालयबाट खटिएको प्रहरी टोलीले विसं २०८१ वैशाख २ गते दिउँसो अन्दाजी १ बजेको समयमा काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ७ बाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पोखरा, कास्कीमा उपस्थित गराइएको छ ।

पक्राउ परेका शान्तीरमण पंगेनीको जन्म घर स्याङ्जा भई हाल काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका थिए । त्यसैगरी टिका पंगेनी पनि सोही स्थानमा बसोबास गर्दै आएकी थिइन् ।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ठगी मुद्दाका यी फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी प्रक्रियाका लागि सम्बन्धित जिल्लामा पठाइएको छ ।

Scroll to Top