कास्की कारागारबाट फरार ‘सिरियल किलर’ काठमाण्डौंबाट पक्राउ, नवलपरासी लगियो

०८० मंसिरमा तनहुँकी सुकु विकलाई पोखराको एक होटलमा हत्या गरी कास्की कारागारमा जन्मकैदको सजाय भोगिरहेका संजय विक जेनजी आन्दोलनका दौरान फरार थिए ।

फरार अवस्थामा अर्काे हत्या गरेर सिरियल किलरको छवि बनाएका बिक पुनः पक्राउ परेका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिकामा वृद्ध दम्पतीमाथि आक्रमण गरी हत्या र लुटपाटमा संलग्न अभियुक्तलाई प्रहरीले काठमाडौंको सुकेधाराबाट पक्राउ गरेको छ।

बीरबहादुर थनेतको जाहेरीले वादी नेपाल सरकार भएको उक्त घटनामा संलग्न बागलुङका ३१ वर्षका संजय विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

घटनाको विवरण अनुसार विसं २०८० चैत २३ गते बिहान देवचुली नगरपालिका वडा नम्बर १६ टाँगीकोट टोल बस्ने ७५ वर्षका जिउनराम थनेत र उनकी ७१ वर्षकी श्रीमती गुलबसनिया थनेतमाथि उनीहरूकै सुत्ने कोठामा आक्रमण भएको थियो।

अपरिचित व्यक्तिले टाउकोमा प्रहार गरी सुनका गरगहना समेत लुटेर फरार भएका थिए। बिहान अन्दाजी सवा ७ बजेको समयमा आफन्तले उनीहरूलाई अचेत अवस्थामा देखेपछि उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेका थिए।

उपचारका क्रममा जिउनराम थनेतको तत्कालै मृत्यु भयो भने गुलबसनिया थनेतको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।

उक्त घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाजिम्पाट, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रदेश प्रहरी कार्यालय पोखरा एवं जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को संयुक्त अनुसन्धान टोली परिचालन भएको थियो।

टोलीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौं महानगरपालिका वडा नम्बर ४ सुकेधाराबाट आरोपीलाई पक्राउ गरे।

पक्राउ परेका संजय विक बागलुङ जिल्ला गल्कोट नगरपालिका वडा नम्बर ९ बाँसकोट निवासी हुन्। उनलाई २०८१ वैशाख १५ गते पक्राउ गरिएको हो।

विकलाई नवलपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी कर्तव्य ज्यान सम्बन्धी कसूरमा अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारीले जनाए।

Scroll to Top