पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’: १८ नियन्त्रणमा, ४१ कारबाहीमा

कास्की प्रहरीले नयाँ वर्षको अवसरमा पोखराका विभिन्न स्थानमा ‘स्वीप अप्रेसन’ चलाएर १८ जनालाई नियन्त्रणमा लिएको छ भने ४१ वटा सवारी साधनमाथि कारबाही गरेको छ ।

विभिन्न स्थानमा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी हो–हल्ला गर्ने, सवारी साधनको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने र शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधि बढेको जनगुनासो आएपछि प्रहरीले यो सक्रियता देखाएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले वैशाख १ गते शनिबार दिउँसो अन्दाजी३ देखि ६ बजेसम्म पोखराका विभिन्न पर्यटकीय तथा सार्वजनिक स्थलमा उक्त अप्रेसन चलाएका थिए ।

मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने, मापासे र लापासे गरी सवारी चलाउने तथा सवारी साधनको स्वरूप परिवर्तन गर्ने कार्यमा संलग्न व्यक्ति र सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाए ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पोखरा महानगरपालिका वडा नम्बर ११ काहुँडाँडाबाट १० वटा सवारी साधन र ८ जना मानिसलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको टोलीले वडा नम्बर १४ चाउथेबाट ९ वटा सवारी साधनलाई कारबाही गरेको छ ।

यस्तै, वडा प्रहरी कार्यालय बैदाम र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले वडा नम्बर १८ मेथलाङबाट १३ वटा सवारी साधन र ५ जना मानिसलाई नियन्त्रणमा लिएको छ । जसमध्ये ६ वटा सवारी साधनलाई कारबाही गरी छाडिएको छ भने ७ वटा सवारी साधन र ५ जना मानिसलाई नियन्त्रणमै राखिएको छ ।

इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको टोलीले वडा नम्बर ३० बेगनास क्षेत्रबाट ८ वटा सवारी साधनलाई कारबाही गरी छाडेको छ । सोही क्षेत्रमा १ वटा सवारी साधनका चालकले लागू औषध सेवन गरेको पाइएकाले उनलाई नियन्त्रणमा लिइएको र अन्य ४ जना मानिसलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि बहादुर वस्नेतका अनुसार नयाँ वर्षका अवसरमा सुरक्षा व्यवस्था कडा पार्न यो अप्रेसन चलाइएको हो ।

उनले यस अभियानअन्तर्गत जम्मा १८ जना मानिस र ४१ वटा सवारी साधनलाई नियन्त्रण तथा कारबाही गरिएको जानकारी दिए ।

Scroll to Top