निशानामा बुलेटः पोखरामा ३ सय मोडिफाइड मोटरसाइकल नियन्त्रणमा, २२ लाख जरिवाना

सडकमा ध्वनि प्रदूषण फैलाउने र जथाभावी स्वरूप परिवर्तन (मोडिफाइड) गरी सवारी सञ्चालन गर्ने २९९ वटा मोटरसाइकललाई कास्की ट्राफिक प्रहरीले कारबाही गरेको छ।

उक्त संख्याको मोटरसाइकलमा रोयल इनिफिल्टको बुलेटको बाहुल्यता छ भने त्यसपछि क्रसफायरको संख्या उल्लेखनीय रहेको ट्राफिक प्रहरीले बताएको छ ।

साउन १ गतेदेखि वैशाख २२ गतेसम्मको अवधिमा गरिएको विशेष अनुगमनका क्रममा ती सवारी साधनहरू नियन्त्रणमा लिइएका हुन्।

कार्यालयका अनुसार, आफुखुसी स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने, ध्वनी प्रदूषण फैलाउने र समाजमा आतङ्क सिर्जना हुने गरी सञ्चालन गरिएका मोटरसाइकलहरूलाई प्राथमिकतामा राखेर चेकजाँच गरिएको थियो।

अनुगमनका क्रममा पक्राउ परेका प्रति मोटरसाइकललाई ७ हजार ५०० रुपैयाँका दरले जरिवाना गरिएको छ। यस कारबाहीबाट कुल २२ लाख ४२ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। यातायात व्यवस्था ऐनको दफा ३९ बमोजिमको कसुरमा यो जरिवाना गरिएको हो।

त्यस्तै,कारबाहीमा परेका मोटरसाइकलहरूलाई जरिवाना मात्र नगरी अनिवार्य रूपमा कम्पनीबाट निकासा हुँदाको सुरुवाती अवस्थामा फर्काउन लगाइएको छ।

स्वरूप परिवर्तन गरिएका साइलेन्सर, ह्यान्डल र अन्य पार्टपुर्जाहरू हटाएर साविककै अवस्थामा आएपछि मात्र ती सवारी साधनहरूलाई छाडिएको कार्यालयले स्पष्ट पारेको छ।

यातायात व्यवस्था विभाग र यातायात व्यवस्था कार्यालयसँगको समन्वयमा गरिएको यस कारबाहीले सडक अनुशासन कायम गर्न र ध्वनि प्रदूषण कम गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

‘सडकमा शान्ति कायम गर्न र ध्वनि प्रदूषण नियन्त्रण गर्न हाम्रो टोलीले निरन्तर अनुगमन गरिरहेको छ,’ कार्यालयका एक अधिकारीले भने, ‘नियमविपरीत स्वरूप परिवर्तन गरेर सवारी चलाउने जोकोहीलाई कानुनी दायरामा ल्याइनेछ।’

प्रहरीले सवारी धनीहरूलाई आफ्नो सवारी साधनको स्वरूप परिवर्तन नगर्न र चर्को आवाज निकालेर सर्वसाधारणलाई सास्ती नदिन समेत अपिल गरेको छ।

Scroll to Top