चार वर्षदेखि कुर्सी र जिम्मेवारीबिना थन्क्याइए लेखा अधिकृत, एक्सनमा कोलेनिका

चार वर्षदेखि पालिकाको बरण्डामा जिम्मेवारीविहीन भएर बसेको एक लेखा अधिकृतले गुनासो गरेका छन् ।

गौर नगरपालिका, रौतहटका लेखा अधिकृत (सातौँ तह) सोहन कुमार यादवले आफूलाई चार वर्षदेखि पालिकामा कुनै किसिमको जिम्मेवारी नदिएको गुनासो गरेका हुन् ।

स्वीकृत दरबन्दीअनुसार स्थानीय प्रशासन सेवा, लेखा समूहतर्फ लेखा अधिकृत सातौँ तहमा पदस्थापन भई वरिष्ठ कर्मचारीका रूपमा निरन्तर कार्यरत रहँदा पनि पालिकाले आफूलाई कुनै जिम्मेवारी नदिएको यादवको भनाइ छ।

उनले विगत लामो समयदेखि आफूलाई कुनै किसिमको जिम्मेवारी नदिई जिम्मेवारीविहीन बनाइएको उल्लेख गर्दै आफ्नो पदीय कार्यविवरण अनुसारको काम गर्न प्रचलित कानुनबमोजिम योग्य रहेकाले पदीय जिम्मेवारीअनुसार कार्यविवरणमा उल्लेखित कामकाजमा खटाउन सहजीकरण गरिदिन आग्रह गरेका छन्।

यस सम्बन्धमा उनले कोष तथा लेखा नियन्त्रक कार्यालयमा अनुरोधसमेत गरेका छन्।

नगरपालिकामा सातौँ तहका लेखा अधिकृत यादवबाट नभई सोही नगरपालिकाका छैठौँ तहका लेखा अधिकृत सोयल अन्सारीबाट खाता सञ्चालन हुँदै आएको बताइएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, रौतहटले लेखा अधिकृत सातौँ तहमा कार्यरत सोहन कुमार यादवलाई लामो समयदेखि कुनै जिम्मेवारी नदिई जिम्मेवारीविहीन बनाइएको र उनी पदीय कार्यविवरण अनुसार काम गर्न योग्य रहेको उल्लेख गर्दै उनलाई जिम्मेवारीअनुसार कामकाजमा खटाउन सहजीकरण गरिदिन गौर नगरपालिका कार्यालयलाई पत्राचार गरेको जनाएको छ।

यादवका अनुसार चार वर्षदेखि तोकिएको जिम्मेवारी नदिइएको मात्रै होइन, कार्यालयमा बस्ने व्यवस्था पनि नगराइएको छ। पालिकामा आएर उभिएर दिन कटाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ। आफूले काम गर्दा नियम–कानुनका आधारमा काम गर्ने भएकाले जनप्रतिनिधिले नियतवश जिम्मेवारी नदिएको आरोपसमेत उनले लगाएका छन्।

उनले आफ्नो समस्या सम्बन्धित निकायमा बारम्बार राख्दा पनि कसैले नसुनेको गुनासो गरेका छन्। पालिकामा हालसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतमार्फत काम सञ्चालन हुँदै आएको पनि उनले बताएका छन्।

हाल नयाँ सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) विष्णु प्रसाद पौडेल पालिकामा आएको र उनलाई यसबारे जानकारी गराउँदा समस्या बुझेर समाधान गर्ने प्रतिबद्धता जनाएको यादवले बताएका छन्।

यता, नगर प्रमुख शम्भु साहले भने चार वर्षदेखि लेखा अधिकृतले जिम्मेवारी नखोजेकाले उनलाई कुनै जिम्मेवारी नदिइएको बताएका छन्।

साथै, सरुवा सहमति पाउनका लागि उनले निवेदन दिएको र पालिकाले उक्त निवेदन स्वीकृत गरिदिएको पनि साहले जानकारी दिएको प्रशासन डटकममा उल्लेख छ ।

Scroll to Top