कृृषि विज्ञ सुवेदीको साहित्य मोहः एकसाथ ३ कृति लोकार्पण

कृषि अनुसन्धाता र विज्ञका छवि बनाएका डा. अनिल सुवेदीले माटोको सुगन्धलाई साहित्यतर्फ मोडेका छन् ।

साहित्य र लेखनमा समेत उत्तिकै रुची राख्ने डा. सुवेदीका ३ कृति लेखनाथ साहित्य प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा लोकार्पण गरिएको छ ।

सोमबार एक कार्यक्रमबीच ‘उच्छलित मन’ कविता सङ्ग्रह, ‘सेती खोंचका सुसेलीहरू’ कविता सङ्ग्रह र ‘वास्तु र वनस्पति’ नामक अनुसन्धानमुलक कृति लोकार्पण गरिएको हो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सो कृतिहरू लोकार्पण गरिएको हो ।

आफुले विभिन्न समयमा बाँचेको जीवन र पुगेका ठाउँहरू समेटेर लेखिएको ‘उच्छलित मन’मा स्वयंका अनुभूति र भोगाइलाई स्थान दिएको स्रष्टाले बताए ।

त्यस्तै, ‘सेती खोंचका सुसेलीहरू’ प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई देखाउन खोजिएको उनको भनाई छ ।

डा. सुवेदीले वनस्पति र वास्तुबीचको सम्बन्ध र यसबाट प्राप्त हुने उर्जाबारे जानकारी दिनका लागि वास्तु र वनस्पति कृति ल्याइएको बताए ।

कार्यक्रममा कविता कृतिको बारे प्राडा जगन्नाथ रेग्मी, वास्तु र वनस्पति कृतिको बारेमा कल्याण पन्तले प्रकाश पारेका थिए ।

पन्तले वास्तु र वनस्पतिबीच अन्तरसम्बन्ध रहेको बताए । नेपाल वनजङ्गल प्रशस्त मात्रामा भएकाले पनि वास्तुको हिसाबले उत्तम रहेको उनले उल्लेख गरे ।

पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति समेत रहेका लेखनाथ साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष पदमराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बिम्बकवी प्राज्ञ रमेश श्रेष्ठ लगायतले बोलेका थिए ।

डा. सुवेदी ‘जैविक विविधता, अनुसन्धान र विकासकालागि स्थानीय पहल’ (ली-बर्ड)का पूर्व कार्यकारी निर्देशक हुन् ।

Scroll to Top