नाटक निर्देशन सिकाइँदै

-


     नयाँ लिपि    
     कार्तिक ४ गते २०७८ मा प्रकाशित


पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्लाबाट २५ जनाको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

शुक्रबारबाट सुरु हुने कार्यशाला १० दिनसम्म चल्नेछ । कार्यशालाका लागि पोखरा थिएटरले सहकार्य गर्नेछ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा हुने कार्यशालामा रंगक्षेत्र, निर्देशन क्षेत्र सहितका विविध क्षेत्रमा स्थापित प्रशिक्षकले सहजीकरण गर्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले बताए । स्थापनाको छोटो समयमानै गण्डकी प्रज्ञा प्रतिष्ठानले केही महत्वपूर्ण कार्यक्रम गरिसकेको उनको दावी छ । ‘नाटकले मनोरञ्जनमात्र दिदैन, सन्देश पनि दिन्छ, यसको बेग्लै महत्व भएकोले गण्डकी प्रदेशका ११ जिल्लाका सहभागीलाई तालिम दिन लागिएको हो’ कुलपति विखर्चीले भने ।


गण्डकी प्रदेशमा नाटकप्रतिको आर्कषण बढाउन कार्यशाला आयोजना गरिएको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठको भनाइ छ । ‘नाटकप्रतिको आर्कषण बढाउनका निम्ति कार्यशालाको आयोजना गरेका हौं,’ उनले भने । प्रदेशका सबै जिल्लामा नाटक निर्देशन गर्न सक्ने व्यक्तिको उत्पादन गर्नु आफूहरुको उद्देश्य रहेको उनले सुनाए । ‘प्रदेशका सबै जिल्लामा नाटक निर्देशन गर्न सक्ने व्यक्ति उत्पादन गरेर उहाँकै माध्यमबाट सो जिल्लामा नाट्य गतिविधि हुने वातावरण निर्माण गर्नेछौं,’ श्रेष्ठले भने ।

नाटक निर्देशन कार्यशालाका लागि सहकार्य गरिएको संस्था पोखरा थिएटरका अध्यक्ष परिवर्तनले गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना हुन लागेको कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘गण्डकी प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्न पाएकोमा खुसी छौं । नाटक निर्देशन कार्यशालाले गण्डकी प्रदेशको नाट्य क्षेत्रमा सकारात्मक उर्जा थप्नेछ,’ परिवर्तनले भने ।

हरेक जिल्लाबाट नाटकमा क्रियाशील बनेका व्यक्तिलाई कार्यशालामा सहभागी गराउन लागिएको उनको भनाइ छ । ‘यो कार्यशालाले एउटा जग निर्माण गर्नेछ, रंगकर्मीलाई सक्रिय र संगठित बनाउन कार्यशालाले सघाउनेछ,’ उनले भने ।