हरिदेवी कोइरालालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

fishtail hospital

शुक्रबार पोखरामा हुने ‘नेसनल गण्डकी म्युजिक अवार्ड २०७८’ को तयारी पूरा भएको छ । पुष्पाञ्जली स्टुडियो प्रालिको आयोजनामा हुने यो कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरिनेछ । जसका लागि उत्कृष्ट ५ मनोनयन यस अगाडि नै सार्वजनिक गरिएको थियो ।

उत्कृष्ट ५ मा पर्न सफल प्रतिभालाई ५० प्रतिशत जुरीको निर्णय र ५० प्रतिशत दर्शक, स्रोताले गरेको भोटको आधारमा अवार्ड विजेता घोषणा गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रमको जुरी निर्णायकमा सुमन श्रापित, बमबहादुर कार्की र रेशम रचक छन् ।

नेसनल गण्डकी म्युजिक अवार्ड–२०७८ मा वितरण गरिने लाइफटाइम एचिभमेन्ट अवार्ड नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा लोकसंगीत विभाग प्रमुख वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिने पुष्पाञ्जली स्टुडियो प्रालिका प्रबन्ध निर्देशक कृष्णप्रसाद गौतमले जानकारी दिए । कार्यक्रममा ज्येष्ठ कलाकार सम्मान र रगं पत्रकार सम्मान कार्यक्रमसमेत हुनेछ ।

यो वर्ष पहिलो अबार्ड भएको हुँदा केही वर्ष अगाडिका गीत समेतले नोमिनेसन फाराम भर्न सक्ने व्यवस्था गरिएको भए पनि अर्को वर्षबाट भने १ वर्ष भित्रका गीतले मात्र सहभागिता जनाउन पाउने प्रबन्ध निर्देशक गौतमले बताए ।

यसपालि चलचित्र विधालाई समेट्न नसके पनि अर्को वर्ष थप्दै जाने गौतमले सुनाए । ‘१५ दिनको समय राखेर विभिन्न विधामा आवेदन गर्न लगाएका थियौं, अवार्ड कार्यक्रमले पोखराको गरिमा बढ्छ, अर्को वर्षबाट विधा थप्दै लैजान्छौ,’ गौतमले भने ।

जुरी निर्णायक संयोजक सुमन श्रापितले वास्तविक प्रतिभालाई अवार्ड प्राप्त गर्नेगरी आफूहरुले कार्य गर्ने बताए । ‘कोरोनाले थलिएको विषम परिस्थितिमा पनि कार्यक्रम गर्ने आट गर्नु सुन्दर पक्ष हो, यसले कलाकारलाई ऊर्जा थप्नेछ’ श्रापितले भने ।

Scroll to Top