पोखरा । पोखरामा बढ्दो ध्वनि प्रदूषण र असुरक्षित सवारी गतिविधिलाई नियन्त्रण गर्न कास्की प्रहरीले ‘Operation 365’ अभियानलाई अझ कडा बनाएको छ ।
यही अभियानअन्तर्गत थप १० वटा मोडिफाइड (रूप परिवर्तन गरिएका) मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पछिल्लो समय मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने, सर्वसाधारणलाई त्रसित पार्ने तथा शान्ति–सुरक्षामा असर पुर्याउने गतिविधि बढ्दै गएपछि निगरानी बढाएर कारबाही तीव्र पारिएको हो ।
चैत १४ गतेदेखि सक्रिय प्रहरी टोलीले पोखरा महानगरपालिकाका विभिन्न स्थानमा विशेष चेकिङ सञ्चालन गर्दै नियमविपरीत सञ्चालन भइरहेका मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरी तथ्यांकअनुसार ‘Operation 365’ सुरु भएयता हालसम्म १४४ वटा सवारी साधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिसकिएको छ ।
प्रहरीले सवारीधनीलाई मोटरसाइकल मोडिफाइ कम्पनीले निर्माण गर्दा कै अवस्थामै प्रयोग गर्न आग्रह गर्दै नियम उल्लंघन गरे कडा कारबाही हुने चेतावनी दिएको छ । साथै, वर्कसप तथा मिस्त्रीहरूलाई पनि गैरकानुनी रूपमा सवारी परिमार्जन नगर्न सचेत गराइएको छ ।
“सार्वजनिक शान्ति भंग गर्ने र ध्वनि प्रदूषण बढाउने गतिविधि सह्य हुँदैन,” प्रहरीको भनाइ छ, “यस्ता कार्यमा संलग्न जोसुकैलाई कानुनअनुसार कारबाही गरिन्छ।”







