घण्टीमा भोट हाल्ने माओवादी खोज्दै नेकपा, कारवाही गर्ने प्रचण्ड अडान

नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा भोगेको पराजयपछि आफ्नै नेता कार्यकर्ताले रास्वपा उम्मेदवारलाई भोट हालेको आंकलन गरेको छ ।

सोही अनुसार भोट हाल्ने पार्टी नेताहरुको खोजी थालेको छ । त्यस्ता नेता पत्ता लगाएर कारबाही गर्ने संयोजक प्रचण्डको अडान छ ।

जनवर्गीय संगठनहरुका नेताहरुको बैठकलाई बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय सदस्यहरुले नै आफ्नो पार्टीका उम्मेदवारलाई भोट नहालेको रिपोर्ट आएको जानकारी दिए ।

५० प्रतिशत भोट रास्वपाको चुनाव चिह्न घन्टीमा गएको रिपोर्ट आएको जानकारी गराउँदै उनले भने, ‘फिप्टी पर्सेन्ट घण्टीमा गए भन्ने जनरल रिपोर्ट आएको छ । कोकोले भोट हालेनन् केन्द्रीय सदस्यमध्ये, प्रदेश सदस्य, तपाईंहरुको जनवर्गीय संगठनका नेताहरु को क्षेत्रमा गएनन्, कले भोट हालेनन्, कले घण्टीमा हाले, त्यो रिपोर्ट तपाईंहरुले दिनैपर्‍यो हामीलाई । तिनलाई कारबाही गर्नैपर्छ ।’

आफ्नो पार्टीलाई भोट नदिएर रास्वपालाई भोट हाल्नेहरुमाथिको कारबाहीको सुरुवात केन्द्रीय सदस्यबाटै हुने बताए । ‘नत्र भने पार्टी बनाउन सकिँदैन । तिनलाई कारबाही गरिन्छ । सबभन्दा पहिला सुरु गरिन्छ केन्द्रीय सदस्यबाट,’ प्रचण्डले भने ।

पार्टी पुनर्गठनको सुरुवात पनि यहीँबाट हुने प्रचण्डको भनाइ छ ।

‘फिप्टी पर्सेन्ट घण्टीमा गए भन्ने जनरल रिपोर्ट आएको छ । हामीले भनेका छौं ठोस रिपोर्ट ल्याउनुहोस्,’ प्रचण्डले भने, ‘कोले हालेन, कोको घण्टीतिर गएको देखियो, तिनलाई हामी आँखा चिम्लेर कारबाही गर्छौं अहिले । पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो ।’

Scroll to Top