रात्रिकालीन सडक दौड पुष १० गते, पुरस्कार राशि वृद्धि र नयाँ विधा थप

पोखरा । पर्यटनको राजधानी पोखरामा खेल पर्यटनको प्रवद्र्धन, रात्रिकालीन व्यवसायको विस्तार र सडक सुरक्षाको सन्देश प्रवाह गर्ने उद्देश्यले आगामी पुष १० गते दोस्रो संस्करणको पोखरा रात्रिकालीन सडक दौड ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ ।

यस वर्ष प्रतियोगितामा पुरस्कार राशि वृद्धि गर्नुका साथै भेट्रान्स विधा थप गरिएको आयोजक पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकले जनाएको छ ।

प्रतियोगिताबारे जानकारी दिन आइतबार फेवातालको बीच भागमा डुङ्गामाथि आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले यस वर्ष पाँच विधामा प्रतियोगिता सञ्चालन गरिने जानकारी गराएको हो ।

तालबाराही मन्दिरको छेउमा माछापुच्छ्रे लगायतका हिमशृङ्खलालाई पृष्ठभूमिमा राखेर आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितालाई पोखराको नयाँ पहिचान र पर्यटकीय गतिविधिसँग जोडेर विकास गर्ने विषयमा जोड दिइएको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताए ।

पोखरा महानगरपालिका वडा नं. ९ सँगको सहकार्यमा गत वर्षदेखि सुरु गरिएको प्रतियोगितालाई यस वर्ष पुरस्कार राशि वृद्धि र विधा थप गरेर अघि बढाइएको उनले जानकारी दिए ।

पोखराको नयाँ पहिचानसहितको इभेन्टका रूपमा स्थापित गर्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उनके बताए ।

यस वर्ष खुला, महिला, विदेशी, यू–१६ र भेट्रान्स गरी पाँच विधामा प्रतियोगिता सञ्चालन भएको थियो । गत वर्ष चार विधामा सीमित प्रतियोगितामा यस वर्ष भेट्रान्स विधा थप गरिएको हो । साथै, विभिन्न विधाका पुरस्कार राशि पनि वृद्धि गरिएको आयोजकले जनाएको छ ।

खुलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी महिला, विदेशी, यू–१६ र भेट्रान्स विधाका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, ७ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सबै विजेतालाई नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा नगद पुरस्कारमै मात्रै एक लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न कुल १७ लाख ९० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं. ९ को वार्षिक बजेटसहितको सहकार्य तथा महानगरपालिकाको प्रवद्र्धनात्मक सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो ।

पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं. ६, फेवा डुङ्गा व्यवसायी संगठन, मन्त्र थकाली, परिचय एड्भर्टाइजिङलगायत संघसंस्थाको सहयोग रहनेछ । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर अस्पताल पार्टनर तथा नेलम्बो नेपाल मेडिकल पार्टनरका रूपमा रहनेछन् ।

पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले वडामा नयाँपन दिने उद्देश्यले गत वर्षदेखि प्रतियोगितामा सहकार्य गर्दै आएको बताए ।

पोखरालाई रात्रिकालीन व्यवसाय र उज्यालो वडाको अभियानसँग जोड्न यस्ता कार्यक्रमले थप प्रवद्र्धन गर्ने उनको भनाइ छ । उनले प्रतियोगितालाई आगामी दिनमा ‘हेरिटेज रन’ का रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै पोखरा भनेको लेकसाइड मात्रै होइन भन्ने सन्देश प्रवाह गर्न पनि रात्रिकालिन सडक दौड महत्वपूर्ण हुने बताए ।

गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टंकप्रसाद ढकाल, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया,फेवा डुङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले प्रतियोगिताले टुरिजम क्षेत्रमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले यस वर्षको दौड क्रिसमस डेको दिनमा परेकाले सडक सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने बताउनुभयो । प्रतियोगिता सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै सरोकारवाला निकायको साथ र सहयोग आवश्यक रहेको उनेको भनाइ थियो ।

गत वर्ष आयोजित पहिलो संस्करणमा नेपालसहित नर्वे, फ्रान्स, थाइल्यान्ड र इङ्ग्ल्यान्डका गरी पाँच देशका १४५ जना धावक सहभागी भएका थिए ।

पहिलो संस्करणमा खुला, महिला, विदेशी र यू–१६ गरी चार विधा सञ्चालन गरिएको थियो । रात्रिकालीन दौडलाई सुरक्षित बनाउन सहभागी धावकको बिमा गरिने र आयोजकले रिफ्लेक्टिभ टिसर्ट उपलब्ध गराउने व्यवस्था गरिएको छ । धावकले आवश्यकताअनुसार हेडल्याम्प प्रयोग गर्न सक्नेछन् । दौड सुरु भएदेखि नै धावकको अगाडि, बीचमा र पछाडि स्वास्थ्य टोलीसहितका एम्बुलेन्स परिचालन गरिनेछ । साथै ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक धावकले डिसेम्बर १ देखि २० सम्म पोखरा क्लिकको अनलाइन पोर्टलमार्फत आवेदन खुल्ला हुने केन्द्रका सचिव सागर सुनारले बताउनु भयो । ‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिताले पोखराको पर्यटनलाई लेकसाइडमा मात्र सीमित नराखी सहरका अन्य पर्यटकीय क्षेत्र र सम्पदाको पहिचान गराउने अपेक्षा आयोजकले गरेको छ ।

Exit mobile version