नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको हालैको भारत भ्रमणबारे टिप्पणी गर्दै दुई खर्ब रुपैयाँभन्दा बढी ऋण प्राप्त गर्नुलाई उपलब्धिका रूपमा प्रचार गरिएको जनाएका छन् ।
विगतमा ऋणले देश डुबाएको भन्दै आलोचना गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू अहिले ऋण प्राप्तिलाई उपलब्धि भन्न थालेको भन्दै महासचिव पोखरेलले नेपालको राष्ट्रिय हित र सरोकारका विषयमा अपेक्षाअनुसार उपलब्धिमूलक हुन नसकेको टिप्पणी गरेका छन्।
प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको राष्ट्रिय स्वाभिमान, सीमा विवाद र राष्ट्रिय हितका विषयमा ठोस उपलब्धि दिन नसकेको बताए।
प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई लज्जित बनाएको टिप्पणी गरे। विगतमा राष्ट्रियताको विषयमा चर्को अभिव्यक्ति दिने प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा नेपालको सीमा विवादबारे समेत प्रभावकारी रूपमा कुरा उठाउन नसकेको आरोप लगाए।
उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणले हामी सबैलाई लज्जित बनाएको छ। काठमाडौं महानगरपालिकाको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेर नेताहरू माथि व्यङ्ग्य गर्नुहुन्थ्यो। हरेक भ्रमणमा उहाँले अर्ती उपदेश दिनुहुन्थ्यो। अस्ति उहाँ भारत भ्रमणमा जानुभयो। नेपालका हित र सरोकारका विषयमा केही कुरा राख्न सक्नुभएन।’
लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत सीमा विवादका विषयमा छलफल नै नभएको र भारतीय विदेश मन्त्रालयका प्रवक्ताले समेत ती विषय भ्रमणको एजेन्डामा नरहेको बताएको बताए।
नेपाल–भारत सम्बन्धको पुनरावलोकनका लागि एमाले नेतृत्वको सरकारका समयमा गठन भएको प्रबुद्ध व्यक्ति समूह ९ईपीजी० को प्रतिवेदनसमेत भारतले बुझ्न नमानेको अवस्थामा प्रधानमन्त्रीले त्यसलाई स्वीकार गर्न र कार्यान्वयनमा लैजान आग्रह गर्न नसकेको बताए।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको हवाई रुटको विषयमा पनि प्रधानमन्त्रीको भारत भ्रमणबाट ठोस सहमति हुन नसकेको बताए।
उनले भने, ‘हिजो हवाई रुट नदिएर अड्किएको थियो, आज उडानको उचाइ कति हुने भन्ने बहसका नाममा नेपालले प्रयोग गर्न नपाउने स्थिति उत्पन्न हुन सक्छ।’
