सेतो दूधको कालो बजारः किसानले बेच्छन् ६५ मा, ग्राहकले किन्छन् १ सय ४० मा

कास्कीका दूग्ध किसानले लिटरको ६५ रुपैयाँमा दूध बेच्दै आएका छन् । तर, उपभोक्ताले भने सोही मात्राको दुध किन्दा १ सय ४० रुपैयाँ तिर्दै आएका छन् ।

यस्तो असमान दररेटकाबीच डेरी व्यवसायी नाफमा रहेपनि किसानले भने विगत तीन वर्षदेखि ६५ रुपैयाँमा बेच्न बाध्य बनाइएको पीडा पोखेका छन् ।

लामो समयदेखि मूल्य समायोजन नभएको भन्दै कास्कीका दूग्ध किसान आन्दोलनमा उत्रने तरखरमा छन् । उनीहरुले प्रतिलिटर कम्तीमा ८० रुपैयाँ मूल्य तोक्नुपर्ने माग गरेका छन् । २०७९ यता किसानले मूल्य समायोजनको माग राख्दै आए पनि राज्यले बेवास्ता गरेको किसानहरुको आरोप छ ।

सप्तगण्डकी दुग्ध उत्पादक सहकारीका अध्यक्ष नवराज बराल भन्छन्, ‘फ्याट र एसएनएफ बढी आएमा मुस्किलले ६६ देखि ७१ रुपैयाँसम्म पर्छ । तर, उद्योगबाट प्रशोधन भएर बजारमा जाँदा त्यही दूध उपभोक्ताले प्रतिलिटर १२० रुपैयाँमा किन्नु परेको छ ।’

उपभोक्ताले दूधको मूल्य १ सय ४० सम्म तिर्न बाध्य छन् । दुध उत्पादनको लागत अत्यधिक बढेको तर दूधमै मूल्य नपाएपछि किसानहरू विस्थापित हुन बाध्य भएको बरालको भनाई छ ।

किसानहरूले नेपालको भौगोलिक विविधता, हावापानी, पशुआहारको उपलब्धता र ढुवानी दूरीका कारण क्षेत्रअनुसार दूध उत्पादन लागत फरक हुने भएकाले देशभर एउटै मूल्य तोक्नु अव्यावहारिक हुने गुनासो गरेका छन् ।

पोखरामा पत्रकार सम्मेलनमार्फत किसानहरुले केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले अघि सारेका मागप्रति ऐक्यबद्धता जनाउँदै संघले मंसिर १६ गतेसम्म आफूहरूका जायज माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

‘किसानले आफ्ना समस्या सुनाउन गाईभैँसी र दाम्लो बोकेर सरकारी कार्यालय र निवासका पिल्लरहरूमा बाँध्नुपर्ने अवस्था सिर्जना नहोस्’ बराल भन्छन् ‘भोलि दूध होइन, दूध बोक्ने ठेकीमा गोबर लिएर हँसिया, नाम्लो र परालका भारीसहित सरकारी कार्यालयमा धर्ना बस्न बाध्य हुनेछौं ।’

कास्कीमा मात्रै करिब ११ हजार ५ सय घरपरिवार दुग्ध उत्पादन व्यवसायमा संलग्न रहेको जिल्ला सहकारी संघले जनाएको छ ।

सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघअन्तर्गत आबद्ध ४२ वटा सहकारी संस्थामा करिब ५ हजार ५ सय किसान परिवार र सहकारीबाहिर निजी फर्ममार्फत दूध बिक्री गर्ने करिब ६ हजार किसान परिवार छन् ।

केही समय अघिसम्म कास्कीमा दैनिक ८० हजारदेखि १ लाख लिटरसम्म दूध उत्पादन हुने गरेकोमा हाल खपत नै दैनिक ६० देखि ७० हजार लिटरमा खुम्चिएको संघको आँकडा छ ।

Exit mobile version