गत आर्थिक वर्षमा सञ्चालित दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत कास्कीका किसानलाई रु दुई करोड २० लाख प्रोत्साहन अनुदान वितरण गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा ४४ लाख लिटर दूध उत्पादन गर्ने लक्ष्य राखिएकामा लक्ष्यअनुसार उत्पादन भएको थियो ।
उक्त परिमाणमा दूध उत्पादन गरेबापत किसानलाई प्रतिलिटर रु पाँचका दरले सहकारी संस्थामार्फत प्रोत्साहन सहयोग उपलब्ध गराइएको कार्यालयका प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिए । उनका अनुसार दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रु दुई करोड २० लाख बजेट विनियोजन गरिएकामा विनियोजित सम्पूर्ण रकम खर्च भई वित्तीय सतप्रतिशत हासिल भएको छ ।
“कार्यक्रमको मुख्य उद्देश्य किसानलाई दूध उत्पादन तथा औपचारिक बजारमा आबद्ध हुन प्रोत्साहित गर्नु हो । यसबाट सरकारले प्रदान गर्ने अनुदान कृषकले प्रत्यक्ष रूपमा प्राप्त गरेका छन् । उत्पादनका आधारमा प्रदान गरिएको अनुदानले व्यावसायिक पशुपालनमा सहयोग पुगेको छ”, कार्यालय प्रमुख न्यौपानेले भने।
कास्कीमा २७ वटा दूध संकलन संस्था/केन्द्रमार्फत वार्षिक ६९ लाख २३ हजार ७०० लिटर दूध संकलन भएको विवरणमा उल्लेख छ ।
साथै आठ हजार ५० जना किसान दूध संकलन प्रणालीमा आबद्ध रहेका कार्यालयले जनाएको छ । कार्यालयले दूध उत्पादन बढाउन किसानलाई प्रतिलिटरका आधारमा प्रोत्साहन दिने कार्यक्रमले उत्पादनलाई औपचारिक बजारसँग जोड्न सहयोग पुगेको जनाएको छ ।
