हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका उपायबारे छलफल गर्न काठमाडौँमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आयोजनामा नोभेम्बर २५ देखि २७ (मङ्सिर ९ देखि ११)सम्म ललितपुरको खुमलटारस्थित इसिमोडको कार्यालयमा ‘एचकेएच क्रायोस्फियरका लागि विज्ञान, नीति तथा क्षेत्रीय सहकार्य प्रवर्द्धनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुन लागेको हो।
सम्मेलनमा हिन्दुकुश हिमालय क्षेत्रमा हिउँ र हिमनदी पग्लिने क्रम, हिमताल विस्फोटजन्य बाढी, हिम पहिरो, जलस्रोत तथा पर्वतीय समुदायको जीविकोपार्जनमा जलवायु परिवर्तनले पारेको प्रभावबारे छलफल हुने ईसिमोडले जनाएको छ।
इसिमोडका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा ध्रुवीय क्षेत्रबाहिर विश्वकै सबैभन्दा ठूलो हिमभण्डार रहेको छ। यस क्षेत्रबाट बग्ने नदीमा करिब दुई अर्ब मानिस निर्भर छन्। सन् १९७५ यता केही क्षेत्रमा हिमनदीको मोटाइ २७ मिटरसम्म घटेको अध्ययनले देखाएको छ।
हिमनदी पग्लिने क्रम तीव्र हुँदै गए पनि त्यसको नियमित अनुगमन र तथ्याङ्क सङ्कलनमा चुनौती देखिएको छ। अनुगमनमा रहेका ३८ हिमनदीमध्ये १८ प्रतिशतले मात्र विश्व हिमनदी अनुगमन सेवा (डब्लुजीएमएस)ले तोकेको न्यूनतम मापदण्ड पूरा गरेका छन्। उक्त मापदण्ड पूरा गर्न कम्तीमा १० वर्षसम्म निरन्तर अवलोकन आवश्यक हुन्छ।
तथ्यांकको अभावले हिमनदीमा भइरहेको परिवर्तनको दीर्घकालीन अनुमान, विपद् पूर्वतयारी तथा सरकार र समुदायले लिनुपर्ने नीतिगत निर्णय प्रभावित भइरहेको सम्मेलनको अवधारणामा उल्लेख छ।
सम्मेलनमा हिमनदी तथा हिउँको अवस्था, हिमताल विस्फोटजन्य बाढी र हिमपहिरोको जोखिम, नदी प्रणाली, जलविद्युत्, सिँचाइ तथा पर्वतीय समुदायको जीविकोपार्जनमा पर्ने प्रभावलगायत विषयमा छलफल हुनेछ। साथै वैज्ञानिक अनुसन्धानलाई नीतिनिर्माणसँग जोड्ने, तथ्यांक आदानप्रदान गर्ने, क्षेत्रीय सहकार्य विस्तार गर्ने र लगानी बढाउने विषयमा पनि विमर्श हुनेछ।
इसिमोडले स्विस पोलार इन्स्टिच्युट, क्रायोस्फियर फाउन्डेसन, पोलार रिसर्च सेन्टर र खलिफा विश्वविद्यालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलनलाई स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसनले सहयोग गरेको छ।
जलवायु तथा वातावरणीय जोखिम प्रमुख चियाङगोङ झाङले क्रायोस्फियर विज्ञानसम्बन्धी अन्तरराष्ट्रियकार्य दशकका सन्दर्भमा विज्ञान, नीति र क्षेत्रीय सहकार्यलाई एकै ठाउँमा ल्याउनु महत्वपूर्ण कदम भएको बताएका छन्। उनले क्रायोस्फियरसम्बन्धी वैज्ञानिक प्रमाण, नीतिगत निर्णय र लगानीबीचको सम्बन्ध सुदृढ बनाउनुपर्नेमा जोड दिए।
हिन्दुकुश हिमालय क्षेत्रमा बढ्दै गएका हिममण्डलीय जोखिमको व्यवस्थापन, जलसुरक्षा, जनजीविकाको संरक्षण तथा पारिस्थितिक प्रणालीको दिगोपन सुनिश्चित गर्न विज्ञानमा आधारित निर्णय र क्षेत्रीय सहकार्य महत्वपूर्ण हुने झाङको भनाइ छ।
उनले वैज्ञानिक तथ्यलाई नीतिगत निर्णय र लगानीसँग जोड्न सके मात्रै यस क्षेत्रका साझा चुनौतीको प्रभावकारी सम्बोधन गर्न सकिने धारणा व्यक्त गरे। सम्मेलनमा क्षेत्रीय तथा अन्तरराष्ट्रिय वैज्ञानिक, नीतिनिर्माता, सरकारी निकाय र विकास साझेदारको सहभागिता रहनेछ।
