muktinath

मुक्तिनाथमा ८ सय जनाका लागि तातोपानीसहितको चेन्जिङ रुम बन्दै, दानबाटै १ करोड ५५ लाख संकलन

सुरज श्रेष्ठ,मुस्ताङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा तीर्थयात्रीको सुविधा विस्तार गर्न आधुनिक पूर्वाधार निर्माणको तयारी गरिएको छ । मुक्तिनाथ विकास समितिले एकैपटक करिब ८ सय जनाले प्रयोग गर्न सक्ने हिटिङ सिस्टमसहितको व्यवस्थित चेन्जिङ रुम निर्माण गर्न लागेको हो । मुक्तिनाथ मन्दिरको दानपेटिकाबाट मात्रै गत वर्ष करिब १ करोड ५५ लाख रुपैयाँ संकलन भएको समितिले जनाएको छ ।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार स्नानपछि विशेषगरी महिला तीर्थयात्रीले कपडा परिवर्तन गर्न भोग्दै आएको असहजता हटाउन तातोपानीसहितको चेन्जिङ रुम निर्माण गर्न लागिएको हो । आगामी फागुनपछि निर्माण सुरु गरी असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण सम्पन्न भएपछि एकैपटक करिब ८ सय तीर्थयात्रीले सुविधा लिन सक्नेछन् ।

चेन्जिङ रुमसँगै मन्दिर परिसरमा रहेका १०८ धाराको पुनर्निर्माण, शौचालय निर्माण, मन्दिर प्रवेश तथा बाहिरिने मार्गको व्यवस्थापन र शिव मन्दिर पुनर्निर्माणलाई पनि समितिले प्राथमिकतामा राखेको छ । यी योजनाले पुरातत्त्व विभागबाट स्वीकृति पाइसकेको भुसालले जानकारी दिए । प्रतिकूल मौसममा तीर्थयात्रीलाई सहज होस् भनेर ओत लाग्ने स्थानलगायतका थप सुविधा विस्तार गर्ने विषयमा समेत छलफल भइरहेको उनले बताए ।

समुद्री सतहबाट करिब ३ हजार ८ सय मिटर उचाइमा अवस्थित मुक्तिनाथ मन्दिर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्छ । पोखराबाट सडकमार्ग हुँदै करिब १८० किलोमिटर यात्रा गरेर मुक्तिनाथ पुग्न सकिन्छ । पोखरा–बेनी–जोमसोम–कागबेनी हुँदै मुक्तिनाथ पुग्ने सडकमार्ग धार्मिक पर्यटकका लागि लोकप्रिय छ ।

मुक्तिनाथ हिन्दू धर्मावलम्बीका लागि भगवान् विष्णुको पवित्र तीर्थस्थल र बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण आध्यात्मिक केन्द्र हो । यहाँ रहेका १०८ धारामा स्नान गर्ने, मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने र नजिकैको ज्वालामाई मन्दिरको अखण्ड ज्योतिको दर्शन गर्ने धार्मिक परम्परा छ ।

शालिग्रामको धार्मिक महत्त्व र हिमाली प्राकृतिक सौन्दर्यले मुक्तिनाथलाई धार्मिक पर्यटनको विशिष्ट गन्तव्य बनाएको छ । नेपालसहित भारत, भुटान र म्यानमारलगायतका देशबाट भक्तजन तथा पर्यटक यहाँ आउने गरेका छन् ।

प्राकृतिक विपद् र सडक अवरोधका कारण पछिल्लो समय मुक्तिनाथ पुग्ने तीर्थयात्रीको संख्यामा भने कमी आएको समितिले जनाएको छ ।

भोटेकोशी तथा कालीगण्डकी क्षेत्रमा आएको बाढीका कारण सडक यातायात प्रभावित हुँदा यात्रुको आगमन घटेको व्यवस्थापक भुसालले बताए । कालीगण्डकीको बाढीका कारण करिब १२ दिन सडक सम्पर्क अवरुद्ध भएको थियो । उनका अनुसार चालु वर्षको पहिलो चार महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीर्थयात्रीको आगमन ३५ प्रतिशतभन्दा बढीले घटेको छ ।

यद्यपि, मुक्तिनाथप्रतिको धार्मिक आस्था र प्रचारप्रसार बढ्दै जाँदा यहाँ आउने भक्तजनको संख्या दीर्घकालीन रूपमा वृद्धि भइरहेको छ । समितिको तथ्यांकअनुसार गत वर्ष करिब १२ लाख भक्तजनले मुक्तिनाथ दर्शन गरेका थिए । त्यसअघिको वर्ष करिब ८ लाख भक्तजन पुगेका थिए ।

मन्दिरमा भक्तजनले चढाउने भेटी तथा दान नै समितिको पूर्वाधार विकास र व्यवस्थापनको प्रमुख आर्थिक स्रोत बनेको छ । भुसालका अनुसार गत वर्ष दानपेटिकाबाट मात्रै करिब १ करोड ५५ लाख रुपैयाँ संकलन भएको थियो । उक्त रकम मुक्तिनाथ मन्दिर परिसर, कागबेनी र दामोदरकुण्ड क्षेत्रको पूर्वाधार विकास तथा तीर्थयात्रीका लागि आवश्यक सुविधा विस्तारमा खर्च गरिँदै आएको छ ।

मुक्तिनाथ बजारको धुलाम्मे तथा कच्ची सडक सुधारका लागि पनि समितिले लगानी गर्ने र स्थानीय पालिकासँग समन्वय गर्ने योजना बनाएको छ । धार्मिक आस्थाको केन्द्रसँगै अन्तर्राष्ट्रिय पर्यटनको सम्भावना बोकेको मुक्तिनाथ क्षेत्रको व्यवस्थापन र पूर्वाधार विकासमा विशेष प्राथमिकता दिनुपर्ने भुसालको भनाइ छ ।

तीर्थयात्रीको बढ्दो चापअनुसार स्नान, कपडा परिवर्तन, शौचालय, सडक तथा विश्रामस्थलजस्ता आधारभूत सुविधा विस्तार गर्न सके मुक्तिनाथ क्षेत्रको धार्मिक पर्यटन थप व्यवस्थित र आकर्षक बन्ने अपेक्षा गरिएको छ । समितिले भक्तजनबाट प्राप्त दान तथा सहयोगी दाताको सहकार्यमा पूर्वाधार निर्माणलाई निरन्तरता दिने जनाएको छ ।

Scroll to Top