एनपीएलमा झनै ‘ग्ल्यामर’ थपिरहेकी येशा सागर को हुन् ?

नेपाल प्रिमियर लिग (एनपीएल)मा अहिले क्रिकेटको मात्र चर्चा छैन। खेलाडी, खेल र टिमसँगै एउटी सुन्दरी प्रस्तोताले पनि दर्शकको ध्यान तानिरहेकी छन्। उनी हुन्, येशा सागर।

क्रिकेट मैदानमा खेलाडीहरूसँग कुराकानी गर्दै र खेलसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै देखिने येशाको चर्चा अहिले सामाजिक सञ्जालमा पनि भइरहेको छ। उनको प्रस्तुति, आकर्षक व्यक्तित्व र पहिरन शैलीले धेरै दर्शकको ध्यान खिचेको छ।

तर येशा क्रिकेट प्रस्तोता मात्र होइनन्। उनी भारतीय मूलकी क्यानेडियन मोडल, अभिनेत्री र टेलिभिजन प्रस्तोतासमेत हुन्।

भारतको पञ्जाबस्थित लुधियानामा जन्मिएकी येशा सन् २०१५ मा क्यानडा पुगेकी थिइन्। त्यहाँ अध्ययनसँगै उनले मोडलिङ र अभिनयलाई पनि अगाडि बढाइन्। विस्तारै मनोरञ्जन क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भइन्।

क्रिकेटसँग उनको सम्बन्ध भने सन् २०२३ को ग्लोबल टी–२० क्यानडाबाट चर्चामा आएको हो। उक्त प्रतियोगितामा उनले टेलिभिजन प्रस्तोताका रूपमा काम गरेकी थिइन्। खेलाडीहरूसँग अन्तर्वार्ता लिने, खेलअघि कार्यक्रम सञ्चालन गर्ने र खेलपछि उनीहरूसँग कुराकानी गर्ने जिम्मेवारी उनले सम्हाल्थिन्।

त्यसअघि नै येशाले पञ्जाबी संगीत क्षेत्रमा मोडलका रूपमा काम गरिसकेकी थिइन्। उनले परमिश वर्मा, गिप्पी ग्रेवाल, प्रेम ढिल्लोनलगायत कलाकारका म्युजिक भिडियोमा अभिनय गरेकी छन्। विशेषगरी परमिश वर्माको गीत ‘चिर्री उड काआ उड’ मा देखिएपछि उनको चर्चा बढेको थियो।

मोडलिङ र अभिनयसँगै उनी फिटनेसमा पनि उत्तिकै रुचि राख्छिन्। जिममा व्यायाम गरेका तस्बिर र भिडियो नियमित सार्वजनिक गर्ने येशाले विभिन्न फिटनेस ब्रान्डसँग समेत सहकार्य गरेकी छन्।

इन्स्टाग्राममा सक्रिय रहने उनी आफ्ना फोटोसुट, घुमफिर र दैनिक जीवनका झलकहरू पनि सार्वजनिक गर्छिन्।

यसरी मोडलिङ, अभिनय र फिटनेसको यात्राबाट अगाडि बढेकी येशा अहिले एनपीएलमार्फत नेपाली क्रिकेट दर्शकमाझ पनि परिचित भइरहेकी छन्। क्रिकेट मैदानमा उनको उपस्थितिले प्रतियोगिताको अर्को आकर्षण थपेको छ।

Exit mobile version