नेपाल पत्रकार महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भएको भन्दै आन्दोलन घोषणा गरेको छ ।
महासंघले मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने र मंसिर ९ गते सबै जिल्ला प्रशासन कार्यालयमा विरोध कार्यक्रम गर्ने जनाएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउन खोजिएको आरोप लगाइएको छ । सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि कारबाही नभएको र गोरखापत्रसहित सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निकालेर श्रम अधिकार उल्लंघन गरिएको विषय पनि महासंघले उठाएको छ ।
पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनबापत पाउने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार कायम नगरिएको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकारले उदासीनता देखाएको महासंघको भनाइ छ ।
आन्दोलनका कार्यक्रमअनुसार मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखलाई ध्यानाकर्षण पत्र पठाइनेछ । मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल ९पापड०सँग छलफल गरिनेछ भने मंसिर ७ गते महासंघका जिल्ला शाखाले सञ्चार सम्बद्ध संघसंस्थासँग छलफल गर्नेछन् ।
मंसिर ९ गते जिल्ला शाखाको आयोजनामा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित जिल्ला प्रशासन कार्यालयमा भेला हुने कार्यक्रम छ । माग पूरा नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने महासंघले जनाएको छ ।
