पोखरा आएर महामन्त्री पौडेल भन्छन् – ‘जति तर्साउन खोजे पनि कांग्रेस तर्सिन्न’

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारले जतिसुकै तर्साउन खोजे पनि कांग्रेस नतर्सिने अभिव्यक्ति दिएका छन् ।

कांग्रेसले कुनैपनि हालतमा लोकतन्त्रको सौदा नगर्ने भन्दै पौडेलले संसदमा संख्या कम भए पनि बहुदलीय संसदीय व्यवस्था र लोकतन्त्रको वकालत गर्ने भएकाले नागरिकको विश्वास कांग्रेसप्रति सदा रहिरहने जनाए ।

कांग्रेस गण्डकी प्रदेशले सोमबार पोखरामा आयोजना गरेको बधाई तथा भेटघाट कार्यक्रममा उनले हल्ला र कानेखुसीले पार्टी कमजोर हुने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गर्दै उनले पार्टी छाड्न लागेका तल्ला तहका नेता–कार्यकर्तालाई रोक्नुपर्नेमा जोड दिए ।

‘चुनदेवीको नेतृत्व लेबलका अग्रज नेताहरुलाई समेट्ने अहिले तत्काल स्थिति बन्छ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘तर वडा तहमा, पालिका तहमा, क्षेत्र तहमा, जिल्ला तहमा जो पार्टीको इमान्दार, जनतामा प्रभाव भएको साथी हुनुहुन्छ, उहाँ जान लाग्नुभएको छ भने हामीले नै फर्काउने कोसिस गरौं ।’ भूमिका दिने सन्दर्भमा पार्टीले फराकिलो दायरा निर्माण गर्न सक्ने उनले स्पष्ट पारे ।

एउटा निर्वाचनमा जनमत पाउँदैमा कोही सर्वेसर्वा र संविधान तथा कानुनभन्दा माथि हुन नसक्ने पौडेलले बताए । सरकारका गलत कामविरुद्ध बोल्नै नहुने र मुखमा बुजो लगाएर बस्नुपर्ने मनोविज्ञान कांग्रेसले स्वीकार नगर्ने उनको भनाइ थियो । अत्याचार, अन्याय र विभेदविरुद्ध तथा कानुन कार्यान्वयनका निम्ति कांग्रेस जन्मिएको बताउँदै उनले लोकतन्त्र रक्षाका लागि पछि नहट्ने जिकिर गरे ।

विगतमा स्थानीय तहको सरकार सञ्चालन गर्दा कांग्रेस पनि पूर्णतः टिप्पणीरहित नरहेको स्वीकार गर्दै पौडेलले कमजोरी स्विकारेर राम्रा काम जनतामाझ लैजानुपर्ने बताए । विगतमा जनप्रतिनिधिहरूले पार्टीको बलमा जितेको तथ्य भुलेको औंल्याउँदै उनले अब त्यस्तो अवस्था नरहने स्पष्ट पारे ।

‘अब त चुनाव कसैले जित्नुभो भने तपाईंको कार्यकालभित्र तपाईं सबभन्दा बढी जवाफदेही हुनुपर्छ, तपाईंको कार्यकाल सकिएपछि चुनाव जित्ने जिताउने सबभन्दा बढी दायित्व तपाईंको भूमिकाका कारण तपाईंको हुन्छ,’ पौडेलले भने, ‘त्यसका बारेमा सबभन्दा बढी जवाफदेही तपाईं हुनुपर्छ, हाम्रो विधानले अब त्यो जवाफदेही तपाईंलाई बनाउँदैछ ।’

कार्यक्रममा महामन्त्री पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित मंसिर १ गतेदेखि ‘हामी तयार छौं’ अभियान सुरु गर्न लागिएको जानकारी दिए ।

मंसिर महिनाभित्रै जिल्ला र प्रदेश अधिवेशनका साथै स्थानीय तह निर्वाचन र ‘प्राइमरी इलेक्सन’को तयारीलाई व्यापक बनाइने उल्लेख गर्दै उनले काठमाडौं फर्किएपछि अभियानको मोडालिटीसहितको सर्कुलर पठाइने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशबाट केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो

Exit mobile version