पश्चिमी वायु सुदूरपश्चिमबाट नेपाल प्रवेश गरेसँगै आज देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा एकाध स्थानमा असिनापानी पर्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
उनका अनुसार बिहानैदेखि वर्षा सुरु हुने देखिएको छ। विशेषगरी पश्चिम नेपालका पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ।
पश्चिमी वायुको प्रभावले सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका हिमाली क्षेत्रमा मध्यम हिमपात हुन सक्नेछ भने बागमतीदेखि कोशी प्रदेशसम्मका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।
पश्चिम नेपालमा चिसोसमेत उल्लेख्य बढ्ने अनुमान गरिएको छ। तराईका क्षेत्रमा भने एक–दुई स्थानमा मात्रै छिटपुट वर्षा हुन सक्ने पोखरेलले बताएका छन्।
मौसममा आएको परिवर्तनसँगै पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन्। मेघगर्जन, चट्याङ, असिनापानी र हिमपातका कारण जनजीवन तथा यातायात प्रभावित हुन सक्ने भएकाले मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न उनको आग्रह छ।
