बागलुङ बसपार्कमा देउसेबीच सामुहिक झडप, १४ पक्राउ

पोखरामा देउसी भैलो खेल्ने क्रममा दुई समूहबीच झैझगडा तथा कुटपिट भएपछि प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कात्तिक २६ गते साँझ पोखरा महानगरपालिका–२ स्थित बागलुङ बसपार्कमा देउसी भैलो खेल्ने क्रममा दुई समूहबीच सामूहिक झगडा भएको थियो ।

उक्त घटनामा एक जना घाइते भएका थिए । घाइतेको फिस्टेल अस्पतालमा उपचार गरिएको र उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे सामाजिक सञ्जालमा भिडियो तथा सामग्री सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान र संलग्न व्यक्तिहरूको खोजी थालेको थियो ।

खोजतलासका क्रममा एक महिला र १३ पुरुष गरी १४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

नियन्त्रणमा लिइएका उनीहरूलाई वडा प्रहरी कार्यालय बगरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version