नेपाल प्रिमियर लिग एनपीएलमा शतकीय पारी खेलेपछि क्यानडाका युवराज सिंह सम्राको चर्चा चुलिएको छ।
पोखरा एभेन्जर्सबाट खेल्दै उनले आज कर्णाली याक्सविरुद्ध ४८ बलमा १० चौका र ६ छक्कासहित १०२ रन बनाए। यससँगै उनी एनपीएलमा शतक प्रहार गर्ने पहिलो क्यानडेली खेलाडी बनेका छन्।
सम्राको क्रिकेट यात्रा बाल्यकालदेखि नै सुरु भएको हो। भारतीय क्रिकेटर युवराज सिंहका प्रशंसक रहेका उनका बुबा बलजित सम्राले छोराको नाम पनि उनै खेलाडीबाट प्रेरित भएर राखेका थिए। बुबासँगै क्रिकेट हेर्न जाने क्रममा युवराजमा यस खेलप्रति रुचि बढेको थियो।
आठ वर्षको उमेरमा उनी क्रिकेट एकेडेमीमा आबद्ध भए। छोराको क्रिकेटप्रतिको लगाव देखेर आमाले आफ्नो जागिरसमेत छाडिन्। क्यानडाको कठ्याङ्ग्रिने जाडोमा अभ्यास गर्न कठिन भएपछि परिवारले उनलाई भारतको चण्डीगढ र अमृतसरसम्म पुर्याएर प्रशिक्षणको व्यवस्था गरेको थियो।
१२ वर्षकै उमेरमा १६ वर्षमुनिको र १३ वर्षमा १९ वर्षमुनिको टोलीमा छनोट भएका युवराजले १७ वर्षमै राष्ट्रिय टोलीमा स्थान बनाए। सन् २०२६ को टी–२० विश्वकपमा न्युजिल्यान्डविरुद्ध ११० रन बनाउँदै उनले विश्व क्रिकेटमा आफ्नो क्षमता प्रमाणित गरे।
बुबाको प्रेरणा, आमाको त्याग र आफ्नै मेहनतले युवराज अहिले क्यानडाका आशालाग्दा क्रिकेटरका रूपमा स्थापित भएका छन्।
