लोरेटो गोन्जालेज पिन्टो
म स्पेन बिल्बाओकी हुँ । यो तस्बिर ३९ वर्ष पुरानो हो। त्यतिबेला म काठमाडौंको फ्रिक स्ट्रिटमा थिएँ। फ्रिक स्ट्रिटको रौनक त्यतिबेलै घट्दै जान थालेको थियो। तर ‘स्नोम्यान’ भने अझै सञ्चालनमै थियो, जहाँ हामी उनीहरूको केक खाएर रमाउँथ्यौँ।
हामी बैंकबाट पैसा आउने प्रतीक्षामा थियौँ। त्यही बीचमा दक्षिण भारतको यात्रामा सँगै घुमेका बिएल र म्यागीसँग हाम्रो भेट भयो। तर पैसा आएन। बैंकमा पैसा पर्खिरहेका बेला पिच्चियो र एन्टोनियो पनि भेटिए, जो आफैँ पैसा आउने प्रतीक्षामा थिए।
त्यसपछि हामी स्नोम्यान जान पनि छाड्यौँ। कोठामै बसेर लुगाको डोरीमा सन्तुलन मिलाउँदै हिँडिरहेको एउटा छेपारो (स्यालामेन्डर) हेरेर समय बिताउन थाल्यौँ। त्यो छेपारो अन्ततः निश्चिन्त भएर बसेका झिँगा खान्थ्यो।
मनसुन नजिकिँदै थियो। आकाशमा गह्रौँ खैरा बादल मडारिन थालेका थिए। आकाशको दृश्यले नै मनसुन आउँदै गरेको महसुस गराउँथ्यो।
हामी बसेको होटल साँघुरो भवनमा थियो। त्यहाँका ढोकाहरू साना थिए, भित्र पस्दा टाउको निहुराउनुपर्थ्यो। नुहाउने ठाउँ माथिल्लो तलामा थियो, जहाँ पोटु नामको एउटा सुगा पनि थियो।
दिनहरू यसरी नै बित्थे—मोमो र दालभात खाने, सहर घुम्ने, मुसलधारे पानी पर्दा लामो समयसम्म सुत्ने र राति दरबार स्क्वायरमा गएर बस्ने।
यसरी नै झन्डै एक महिना बितेपछि एक दिन हामीले बैंकमा पैसा आइसकेको तर हामीबाट लुकाएर राखिएको रहेछ भन्ने थाहा पायौँ।
होटल फर्किएपछि मेघ गर्जिन थाल्यो र पानी पर्न सुरु भयो। छानाबाट पानी झार्ने पाइपबाट तीव्र गतिमा पानी बाहिर निस्किरहेको थियो। त्यही बेला म्यागीले आफ्नो माथिल्लो लुगा खोलिन् र कम्मरमाथिको शरीर नाङ्गै राखेर पानीमा नुहाउन थालिन्।
उनका गाढा हरिया आँखाको दृश्य मेरो स्मृतिमा सधैँका लागि कोरियो। पानीको भेलमुनि उनको अनुहारमा खुसी र आनन्दको अनुपम भाव झल्किरहेको थियो।
सबैलाई शुभ सोमबार !
दीपावलीको हार्दिक शुभकामना !
