प्रधानमन्त्रीको तिहार शुभकामनाः -‘न्याय र सत्यको बाटेमा अडिग होऔं’

प्रधानमन्त्री बालेन्द्र शाहले काग तिहार तथा धन्वन्तरी जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहन सबैलाई आग्रह गरेका छन् ।

यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा उनले आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

कागलाई यमराजको दूत मान्दै मीठा परिकार खुवाएर सम्मान गर्ने परम्परा रहेको उल्लेख गर्दै उनले प्राचीन समयमा काग कराउँदा समाचार वा पाहुना आउने विश्वास गरिने गरेको बताएका छन् । यमराजसमक्ष शुभ सन्देश पुर्‍याउने कामनासहित कागलाई दही–भात दिने र परिवारका सदस्यको नाममा यम दीपदान गर्ने परम्परासमेत रहेको उनले स्मरण गरेका छन् ।

हाम्रो संस्कृतिले यमराजलाई डरको प्रतीकका रूपमा मात्रै नभई न्यायको प्रतीकका रूपमा पनि प्रस्तुत गरेको उनको भनाइ छ । यमराजले दुष्कर्म गर्नेलाई दण्ड दिने र सत्कर्म गर्नेलाई रक्षा गर्ने विश्वास रहेको उनले उल्लेख गरेका छन् ।

धन्वन्तरी जयन्तीका अवसरमा पनि शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहले आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गरेका छन् । उनले सबैको निरोगी जीवनको कामना गरेका छन् ।

त्यस्तै, भोलि मनाइने कुकुर तिहारको प्रसंग उल्लेख गर्दै उनले मानव सभ्यताको विश्वासिलो र वफादार साथी कुकुरप्रति प्रेम र कृतज्ञता प्रकट गर्ने दिनका रूपमा यसलाई व्याख्या गरेका छन् । घरको रखवारीदेखि अनुसन्धान र उद्धार कार्यसम्म मानिसलाई साथ दिने कुकुरको सम्मानले अन्य जीवप्रतिको सहअस्तित्व र सद्भावलाई अझ प्रगाढ बनाउने उनको विश्वास छ ।

‘सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा यी पर्वहरूले हामीलाई दिओस्,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

उनले सन्देशको अन्त्यमा ‘जय देश, जय संस्कृति’ उल्लेख गरेका छन् ।

Exit mobile version