राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तोसिमा कार्कीले आफ्नै पार्टीको सरकार र सरकारमा सहभागी ३ मन्त्रीलाई विगतमा लगाइएको नारा स्मरण गराएकी छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै डा. गोविन्द केसीको जीवन रक्षाका लागि अपिल गरेकी छन् । विगतमा लगाइएको नारा सम्झाउँदै उनले सरकारमा सहभागी ३ मन्त्रीलाई ट्याग गरेर स्मरण गराएकी हुन् ।
‘ओली, देउवा, प्रचण्डः तिम्रो माफिया मोहले देश हुन्न प्रशन्न, एक–दुई–तीन–चारः बन्द गर भ्रष्टाचार, वि आर विथ डा. गोविन्द केसी, हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा. केसीको साथमा,’ उनले लेखेकी छन्, ‘माइतीघर–बानेश्वरमा पटक पटक घन्काईएका यी नाराहरु याद छ ? डा. केसी पागल हुन् भने ‘म पनि पागल हुँ’ भनेर आआफ्नो निधारमा बाँधेको त्यो फेटा याद छ ?’
उनले सरकारका मन्त्रीहरु सस्मित पोखरेल, विराजभक्त श्रेष्ठ र शिशिर खनाललाई यो स्ट्याटस ट्याग गरेकी छन् । उनीहरु तीनैजना सरकारका मन्त्री छन् ।
तोसिमाले भनेकी छिन्ः
डा. गोबिन्द केसीको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको एजेण्डालाई नजिक बाट चिन्ने र अभियानको समर्थन गर्नेहरुनै क्याबिनेटमा हँदा पनि ६ महिनामा डा केसीले दुई पटक अनसन बस्नुपर्ने अवस्था आईसक्नु राम्रो सन्देश होईन।
यहि सरकारले अघिल्लो सत्याग्रहमा गरेका सहमति पनि कार्यन्वयन किन भईरहेको छैन भन्ने प्रश्न पेचिलो छ। स्वास्थ्य स्थिती गम्भिर हुँदैछ, रगतमा सुगरको मात्रा घट्यो, विपी घट्यो, मुटु दुख्ने, मांशपेसी दुख्ने स्थिती आईसक्यो भन्ने स्वास्थ्य अलर्ट आउँदा जति मलाई दुखिरहेको छ, सायद त्यति नै हाम्रो शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई पनि दुखिरहेको होला।
तत्काल वार्ता गरी समहमति गरियोस्। कार्यन्वयन गरियोस्। भावि दिनहरुमा समयमै स्थिती पहिचान गर्ने, छलफल गर्ने, आवश्यक समन्वय गर्ने गरियोस्। त्यो सत्य र निष्ठाको धरोहरले यो ईमानको राज्यमै पनि वृद्द भईसकेको शरीरमार्फत पटक पटक अग्नी परिक्षा दिनुपर्ने स्थिति नबनाईयोस्।
