सुरुवाति खेलको हारपछि आज जनकपुरसँग खेल्दै पोखरा एमेन्जर्स

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच रोमाञ्चक भिडन्त हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मौदनमा अपराह्न ४:३० बजे खेल सुरु हुनेछ।

आजको खेलमा जनकपुर बोल्ट्स दोस्रो जितको खोजीमा मैदान उत्रनेछ भने पोखरा एभेन्जर्स प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गराउने रणनीतिमा हुनेछ। जनकपुरको टोली सम्हालेका कप्तान हर्मित सिंह र पोखराका कप्तान कुशल भुर्तेलबीचको मैदान रणनीति आजको मुख्य आकर्षण रहनेछ।

जनकपुर बोल्ट्सले जारी प्रतियोगितामा मिश्रित प्रदर्शन गरेको छ। अघिल्ला दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको जनकपुरले कर्णाली याक्ससँग पराजय व्यहोरे पनि काठमाडौँ गोर्खाजलाई पराजित गर्दै पुनरागमन गरेको थियो। अर्कातर्फ, पोखरा एभेन्जर्स आफ्नो पहिलो खेलमै सुदूरपश्चिम रोयल्ससँग पराजित भएकाले आजको खेल जित्दै तालिकामा खाता खोल्ने दबाबमा छ।

हेड-टु-हेड तथ्यांकलाई हेर्दा दुवै टोली बराबरी हैसियतमा देखिन्छन्। एनपीएलका अघिल्ला संस्करणहरूमा भएका भेटमा दुवै टोलीले एक-एक खेल जितेका छन्। सन् २०२५ को संस्करणमा पोखराले जनकपुरलाई २५ रनले हराएको थियो भने सन् २०२४ मा जनकपुरले पोखरामाथि सात विकेटको सहज जित निकालेको थियो।

त्रिवि क्रिकेट मैदानको पिच र समर्थकहरूको उत्साहजनक उपस्थितिका बिच आज दुवै टोली आफ्ना प्रमुख खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको भरोसामा जित हासिल गर्ने मैदानमा उत्रिनेछन्।

Exit mobile version