पोखराको वडा कार्यालयमै जातीय विभेद, वडा सदस्यसहित ३ पक्राउ

पोखरा महानगरपालिका–१४ को वडा कार्यालयमै दलित कर्मचारीमाथि भएको जातीय विभेदउपर कास्की प्रहरीले एक्सन लिएको छ ।

गत असोज २२ गते पीडित महिला कर्मचारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएकी थिइन् । जाहेरी पश्चात् दलित महिला कर्मचारीमाथि जातीय विभेद गरेको आरोपमा जनप्रतिनिधिसहित तीनजना पक्राउ परेका छन् ।

कर्मचारी गंगा विकले दिएको जाहेरीका आधारमा वडा सदस्य कृष्णहरि काफ्ले, कार्यालय सहयोगी अम्बिका भण्डारी र देवी विकलाई प्रहरीले पोखरा-१४ बाट पक्राउ गरेको हो । विक वडामा कार्यालय सहयोगी हुन् ।

पक्राउ परेका मध्ये भण्डारीले जातकै आधारमा भान्सामा पस्न र खाना पकाउन रोक लगाएको भन्दै विकले जिल्ला प्रहरी कार्यालय कास्कीमा २२ असोजमा जाहेरी दिएकी थिइन् । कार्यालयको भान्सामा आफूलाई चिया पकाउन, खाना पकाउन र पानी दिने कामसमेत गर्न नदिइएको उल्लेख गरेकी छन् ।

जाहेरीअनुसार भण्डारीले १२ असोजमा ‘गंगा दिदी आजबाट १६ दिन बार्ने भनेका छन् । तपाईंले चिया पकाउने, खाना पकाउने, पानी दिने काम नगर्दिनुहोला । पितृकार्य हो, आजबाट १६ दिनसम्म पानी भान्सा नछोइदिनुहोला’ भनेकी थिइन् ।

कार्यवाहक वडाध्यक्षसमेत रहेका काफ्ले लगायतले यस्तो आदेश दिएको थाहा पाएपटि गंगाले जाहेरी दिएको उल्लेख गरेकी छन् । आफूले काम गर्ने सार्वजनिक कार्यालयमै जातका आधारमा जिम्मेवारी पूरा गर्न रोक लगाइएको उनको भनाइ छ ।

विकका अनुसार उनी ०५९ सालदेखि पोखरा महानगरपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत छिन् । करिब पाँच महिनाअघि वडा नम्बर १४ मा सरुवा भएर काम गर्न थालेकी थिइन् ।

घटनाको दिन कार्यालय सरसफाइ गरेर पानी खान भान्साकोठामा जाँदा आफूलाई १६ दिनसम्म भान्सामा नछिर्न भनिएको उनले जाहेरीमा उल्लेख गरेकी छन् ।

विकले जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अनुसार कारबाहीको माग गर्दै क्षतिपूर्ति दिलाउनसमेत उल्लेख गरेकी छिन् ।

आरोपीलाई पक्राउपछि कास्की अदालतबाट सात दिनको म्याद थपेर थप अनुसन्धान अघि बढाएको डीएसपी विरेन्द्रकुमार पासवानले जनाएका छन् ।

Exit mobile version