बच्चालाई जन्माएपछि ज्यान लिएको आरोपमा पोखराबाट निरुता पक्राउ

पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा १९ वर्षीया निरुता नेपालीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थायी घर भई हाल पोखरा महानगरपालिका–६ लेकसाइडस्थित तोडबहादुर थापाको घरमा भाडामा बस्दै आएकी नेपालीलाई पक्राउ गरिएको हो। उनको माइतीघर पोखरा कृष्ती रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा नेपाली र अर्जुनचौपारी–१ का राजन सार्कीबीच ०७८ सालमा सामाजिक परम्पराअनुसार विवाह भएको खुलेको प्रहरीले जनाएको छ। २०८२ माघमा नेपाली गर्भवती भएको थाहा भएपछि त्यसपछि उनीहरूबीच भेटघाट नभएको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार नेपाली लेकसाइडस्थित डेरामा एक्लै बस्दै आएकी थिइन्। राजनले फोन गर्दा उनले बच्चा फालिसकेको बताएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले नेपालीको खोजतलास गर्ने क्रममा कात्तिक ७ गते दिउँसो करिब सवा १ बजे पोखरा महानगरपालिका – २१ लुकुमस्वारास्थितबाट पक्राउ गरेको जनाएको छ। पक्राउपछि चिकित्सकबाट उनको यौनजन्य स्वास्थ्य परीक्षणसमेत गराइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार नेपालीलाई कास्की जिल्ला अदालतबाट कात्तिक ४ गतेदेखि लागू हुने गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

Exit mobile version