पोखरा । दसैँ सकिए लगतै बजारमा कुखुराको मासुको मूल्य घटेको छ । खपत घटेको भन्दै व्यवसायीले कुखुराको मासुको मूल्य घटाएका हुन् ।
आज(सोमबार) देखि लागु हुने गरी कुखुराको जिउँदो र तयारी मासु मूल्य घटाइएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घले जनाएको छ ।
सङ्घका अनुसार जिउँदो कुखुरा प्रति केजीमा १० रुपियाँ र तयारी मासु केजीमा १५ रुपियाँ मूल्य घटाइएको छ । दसैँअघि प्रतिकिलो २९० रुपियाँमा बिक्री भइरहेको जिउँदो कुखुराको मूल्य २८० रुपियाँ कायम गरिएको छ ।
यस्तै तयारी मासुमा १५ रुपियाँले घटेर ३८५ रुपियाँ तोकिएको सङ्घले जनाएको छ । दसैँअघि कुखुराको मासु पसल अनुसार फरक फरक मूल्य निर्धारण गरी प्रतिकेजी ४२० रुपियाँसम्म बिक्री भएको थियो ।
चाडपर्व मनाउन शहर बाहिर गएका धेरै मानिस अझै फर्किनसकेका कारणले गर्दा पनि बजारमा मासुको खपत बढ्न नसकेको सङ्घको भनाइ छ । सङ्घका अनुसार अर्को महिनादेखि चिसो बढेसँगै उपत्यकामा मासुको खपत बढ्ने गर्छ । दसैँमा कुखुराको तुलनामा खसी र राँगाको मासु बढी खपत हुने गर्छ ।
यस्तै बजारमा जिउँदो खसी प्रतिकेजी ७५० देखि ८५० रुपियाँ र तयारी खसीको मासु प्रतिकेजी एक हजार सात सय रुपियाँ रहेको छ ।
