कहाँ चुक्यो कास्की प्रहरी ? पहिले ‘लागुऔषध ओसारपसार’, अहिले ‘प्रेस्क्रिप्सन’को ईस्यू किन ?

कास्की प्रहरीले पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे फार्मेसी सञ्चालिका अमिसा ढुंगानालाई लागूऔषध कारोबार आरोपमा पक्राउ गरेपछि आधिकारिक पेजबाट सूचना सार्वजनिक ग¥यो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले बुधबार साँझ करिब ७ बजे इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले जलधारे फार्मेसीमा जाँच गरेको थियो।

जाँचका क्रममा फार्मेसी सञ्चालिका २९ वर्षीया अमिसाको साथबाट कोडिन कोडिप–पी ६ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की बरामद भएको प्रहरीले जनाएको छ। जुन ‘नियन्त्रित औषधि’ हुन्।

प्रहरीले उक्त सूचना सार्वजनिक गरेपछि कमेन्टमा विरोध र कार्यशैलीमा प्रशस्तै आलोचना भयो । सम्भवतः कास्की प्रहरीको पेजमा यति धेरै कमेन्ट र आलोचना जनाइएको यो पहिलो घटना हो ।

त्यसपश्चात् प्रहरीले कात्तिक ८ गते पुनः विज्ञप्ती जारी गर्दै अमिसा पक्राउबारे स्पष्टीकरण दिएको छ । जसमा अमिसामाथि लागुऔषध ओसारपसार र कारोबार नभई ‘चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्री गरेको आरोप उल्लेख छ ।

विज्ञप्तीअनुसार आरोप फरक देखिएको छ । र, यहीनेर कास्की प्रहरी चुकेको छ ।

यस विषयमा नयाँलिपिले कास्की प्रहरीका अधिकारीहरुसँग बुझ्ने कोशिस गर्दा सूचनामा तथमाथि परेको उनीहरुको जिकिर छ । यद्यपि, यसबारे प्रहरीले केहिदिन भित्र तथ्य बाहिर आउने दाबी गरिरहेको छ ।

कास्की प्रहरीका डीएसपी विरेन्द्रकुमार पासवानले प्राप्त सूचनाकै आधारमा एक्सन लिइएको बताउँदै केही भुलचुक भएको हुनसक्ने बताए ।

‘हाम्रा सूचनादाताको आधारमा त्यहाँ पुगेका हौं, लागुऔषधकै ओसारपसार र कारोबार भएको भन्ने खबर पायौं’ डीएसपी पासवान भन्छन् ‘पछिल्लो विज्ञप्तीमार्फत हामीले सच्याएका छौं ।’

पासवानका अनुसार चिकित्सकको प्रेस्क्रिप्सनबिना औषधि बेच्नु पनि अपराध हो । अमिसालाई लागुऔषध कारोबारमै मुद्धा चलाउन आज म्याद थप्न सरकारी वकिलको कार्यालय लगिनेछ ।

प्रहरीले बरामद गरिएका औषधि मनोरोगसम्बन्धित भएको जनाएको छ । कानूनी प्रक्रियाकाक्रममा अमिसाले दर्ता, व्यवसाय, अध्ययनसँग सम्बिन्धित सम्पूर्ण कागजात पेश र प्रमाणित गर्न सके छुट्ने अन्यथा कारोबारी ठहरिने प्रहरीले बताएको छ ।

अमिसा फार्मेसी सञ्चालिका हुन् वा फर्मासिस्ट पनि हुन् भन्ने विषयमा प्रश्न गर्दा पासवानले अनुसन्धानकैक्रममा रहेको जनाए ।

माथि उल्लेख गरिएको ‘नियन्त्रित औषधि’ भन्नाले डाक्टरको सिफारिसपश्चात् मात्र बिक्री–वितरण गर्नुपर्ने हुन्छ । सिफारिसबिना बिक्री गर्दा यस्ता औषधि लागुपदार्थ ठहर्ने र कारोबारी भइने कानुनतः उल्लेख छ ।

Exit mobile version