मालेपाटनको चौरमा पोखरेलीले निःशुल्क हेर्नेछन् एनपीएल

नेपाल प्रिमियर लिग (एनपीएल)का सम्पूर्ण खेल पोखराको मालेपाटन ग्राउन्डमा निःशुल्क प्रत्यक्ष प्रसारण गरिने भएको छ । एक्स्ट्रिम इनर्जी ड्रिंक्सको आयोजनामा हुन लागेको उक्त लाइभ स्क्रिनिङ कार्यक्रमको व्यवस्थापन प्रचार नेपाल प्रालिले गर्नेछ ।

आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने स्क्रिनिङमा क्रिकेटप्रेमीले ठूलो स्क्रिनमा एनपीएलका खेल हेर्न पाउनेछन् । कार्यक्रमले पोखराका क्रिकेटप्रेमीलाई एकै ठाउँमा भेला भएर आफ्नो मनपर्ने टिमलाई समर्थन गर्दै खेलको रोमाञ्चकता अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।

खेलको प्रत्यक्ष प्रसारणसँगै दर्शकलाई मनोरञ्जन, खानपिन तथा साथीभाइसँग बसेर क्रिकेटको आनन्द लिने वातावरण तयार गरिने आयोजकले जनाएको छ । कार्यक्रममार्फत क्रिकेटप्रतिको उत्साह बढाउनुका साथै पोखरामा सामूहिक रूपमा खेल हेर्ने संस्कृतिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमको व्यवस्थापन जिम्मेवारी पाएको प्रचार नेपाल पोखरामा इभेन्ट म्यानेजमेन्ट, प्रचारप्रसार, मिडिया अभियान तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालनमा सक्रिय रहँदै आएको छ ।

कार्यक्रमलाई सफल बनाउन तथा पोखरामा क्रिकेट खेलको प्रवद्र्धन र समर्थन गर्ने उद्देश्यले पोखरा महानगरपालिका वडा नम्बर ५ र बाराही माध्यमिक विद्यालयले समेत आवश्यक सहयोग गरेका छन् ।

Exit mobile version