पोखरा — ज्यान र डाका सम्बन्धी मुद्दामा जन्मकैदको सजाय ठहर भई कास्की कारागारमा सजाय भुक्तान गरिरहेका एक कैदी कारागारबाट फरार भएपछि प्रहरीले पक्राउ गरेको छ।
कास्की जिल्ला अदालतबाट जन्मकैदको फैसला भई सजाय भुक्तान गरिरहेका पोखरा महानगरपालिका–१८ खपौदीका ३७ वर्षीय सन्तोष जलारी कारागारबाट फरार भएका थिए।
जलारी असोज ३ गते बिहान करिब २ बजे कास्की कारागारबाट फरार भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
फरार कैदीको खोजीका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजी गर्ने क्रममा उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार जलारीलाई असोज ३ गते साँझ ५ः५५ बजे पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित न्यू झरना गेस्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।
पक्राउ परेका जलारीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
