पोखराको पद्म नर्सिङ होम प्रकरणमा मुछिएका गण्डकी प्रदेश सरकारका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेलमाथि कारबाहीको सिफारिस गरिएको छ ।
अस्पताललाई १ सय शय्या्को अनुमति दिने क्रममा ३० लाख रुपैयाँ ‘घुस डिल’ गरेको आरोप मन्त्री पाण्डेलगायतलाई लागेको छ ।
नेकपा (एमाले) गण्डकी प्रदेश सभा संसदीय दलद्वारा गठित तीन सदस्यीय छानबिन समितिले अध्ययन प्रतिवेदन तयार पारी संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारी र एमाले गण्डकीका अध्यक्ष नवराज शर्मालाई बुझाउँदै यस्तो सिफारिस गरेको हो ।
छानबिन समितिकी संयोजक एवं एमाले प्रमुख सचेतक देवका पहारी त्रिपाठीले पूर्वमन्त्री पाण्डे र उनका स्वकीय सचिवले पदीय मर्यादाविपरीत गलत काम गरेको निष्कर्षसहित कारबाही सिफारिस गरिएको बताइन् ।
अब प्रतिवेदनउपर पार्टीको अनुशासन आयोगले अन्तिम निर्णय लिने उनले बताइन् । प्रतिवेदन पहिले नै तयार भए पनि दलका नेताले समय नदिएका कारण बुझाउन ढिलाइ भएको बताइएको छ ।
समितिको प्रतिवेदनमा पूर्वमन्त्री पाण्डे र उनका स्वकीय सचिव पौडेल एमाले पार्टी विधानको धारा ८४ को ‘छ’ र ‘ञ’ विपरीतका क्रियाकलापमा संलग्न रहेको उल्लेख छ ।
साथै, प्रदेशसभा संसदीय दलको विधान २०८० को धारा २७ तथा मन्त्री बन्नुअघि हस्ताक्षर गरिएको आचारसंहितासमेत उल्लंघन गरेकाले उनीहरूमाथि कडा कारबाही गर्न सिफारिस गरिएको छ ।
समितिले मन्त्री छनोट गर्दा सम्बन्धित व्यक्तिको आचरण, कार्यशैली र पृष्ठभूमिमा विशेष ध्यान दिन संसदीय दललाई सुझाव दिएको छ ।
यस्तै, मन्त्रीका सचिवालय सदस्यहरूको नियुक्तिमा पार्टीको प्रदेश कमिटीको सिफारिस र अनुगमन अनिवार्य गरिनुपर्ने, निर्णयहरूको गोपनीयता कायम राख्नुपर्ने र भेटघाटका क्रममा आसपासका मानिसहरूबारे सचेत रहनुपर्ने प्रतिवेदनमा उल्लेख छ । पद्म नर्सिङ होमसँग ३० लाख रुपैयाँको घुस डिल गरेको विषय सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो ।
उक्त भिडियो र समाचार सार्वजनिक भएपछि प्रमुख सचेतक पहारीको संयोजकत्वमा प्रदेश कमिटी सचिव धनञ्जय दवाडी र संसदीय बोर्डका सचिव वेदबहादुर गुरुङ सदस्य रहेको छानबिन समिति गठन गरिएको थियो ।
