सिटीवान टेलिभिजनद्वारा चाडपर्व लक्षित शुभकामना आदानप्रदान

पोखरा । सिटीवान टेलिभिजनले विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । स्टार नेपाल मिडिया हब प्रालिद्वारा सञ्चालित टेलिभिजनले बिहीबार आयोजना गरेको कार्यक्रममा संस्कृति संरक्षण, सद्भाव र आर्थिक समृद्धिमा जोड दिइएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिना गुरुङले चाडपर्वले आपसी आत्मीयता, सद्भाव र एकता बलियो बनाउने बताउँदै राष्ट्र निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरिन् ।

गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.शेषनारायण पौडेलले सुशासन र सदाचारबाट आर्थिक विकासलाई गति दिन सकिने बताए। उनले चाडपर्वले सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले धर्म, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा जोड दिए । त्यस्तै, उद्योगी आनन्दराज मुल्मीले आर्थिक समृद्धिका लागि सामूहिक प्रयास र सहकार्य आवश्यक रहेको बताए। पोखरा महानगरपालिका वडा नं.१७ की वडाध्यक्ष राधिका कुमारी शाही योगीले सबै नागरिकले समान रूपमा चाडपर्व मनाउन पाउने वातावरण बनाउनुपर्ने बताइन् ।

टेलिभिजनका अध्यक्ष पवन प्रजापतिले सबैको साथ र सहयोगले टेलिभिजनले यात्रा अघि बढाउन सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गरे । टेलिभिजनका उपाध्यक्ष राजेन्द्र ओझाले उद्योगी तथा व्यवसायीलाई सरकारको साथ र सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रमको सञ्चालन टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले गरेकी थिइन् । २०७८ मंसिर २१ गतेदेखि नियमित प्रसारण सुरु गरेको सिटीवान टेलिभिजनले गण्डकी प्रदेशलाई प्राथमिकतामा राखेर समाचार तथा कार्यक्रम प्रसारण गर्दै आएको छ। कार्यक्रममा उद्योगी, व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मी, कर्मचारी तथा शुभचिन्तकहरूको उपस्थिति थियो ।

Exit mobile version