खगेन्द्र सुनारको ‘छाडा’ र ‘धम्कीपूर्ण’ अडियो सार्वजनिक, व्यक्ति सम्पर्कविहीन

सोमबार जनआस्था साप्ताहिकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारको अडियो सार्वजनिक गरेको छ ।

सार्वजनिक उक्त अडियोको तथ्य जाँच भइसकेको छैन । यद्यपि, उक्त अडियोले सांसद सुनारले बोलेको शब्दले भने उनको देशव्यापी बेइज्जती भएको छ ।

उक्त अडिओ केही वर्षअघि रेकर्ड गरिएको सम्भावना छ । त्यहाँ सुनिने महिलाको आवाजलाई ठम्याउने कोशिस गर्दा र त्यसबेला उनको पद खुलाइएको कारण अडियो पुरानो भएको आंकलन गरिएको हो ।

सम्वादमा सुनिए अनुसार महिला राजनीतिक व्यक्ति भएको ठम्याउन सकिन्छ ।

सोही अडियोले सामाजिक सञ्जालमा सुनार एकपटक पुनः चर्चामा छन् तर ‘भिलेन’ आवरणमा ।

अडियोबारे तथ्य बुझ्न सोमबार साँझदेखि सांसद सुनारसँग फोन सम्पर्क गर्दा ‘स्वीच अफ’को संकेत पाइएको छ भने मंगलबार बिहानै सम्पर्क गर्दा पनि सोही सन्देश आएको छ ।

अडियोमा उनले प्रयोग गरेका शब्दहरूले मर्यादित भाषाको सीमा नाघेको छ । उनले प्रयोग गरेको शब्दलाई छाडा र सुनारलाई गतिछाडा भन्न सकिन्छ ।

यसअघि रास्वपामा ‘राइट टु रिकल’को चर्चा भएको थियो । तर त्यो चर्चामै सिमित छ । यदि उक्त व्यवस्था गरिएको भए सुनार सम्भवतः संसदबाट फिर्ता बोलाइन्थे । तरैपनि अडियोको तथ्य जाँचपछि मात्रै जनआस्था र सुनारको मर्यादा मापन हुनेछ ।

पछिल्लो पटक आइजीपी दानबहादुर कार्कीसँग म्यादी प्रहरीको पोशाकमा भएको अनियमितताबारे बहस चलाएर सुनार चर्चामै रहेका छन् ।

Exit mobile version