पोखरा-भरतपुर-लुम्बिनी समेट्दै ‘सिल्भर ट्रयाङ्गल’को छलफलमा ३ मेयर

पोखरा, भरतपुर र लुम्बिनीलाई जोडेर नयाँ गन्तव्य ‘सिल्भर ट्रयाङ्गल’को अवधारणामा छलफल सुरु भएको छ ।

तीन नगरबीच पर्यटन प्रवर्द्धन, विकास तथा आपसी पर्यटन आदानप्रदानलाई प्रभावकारी बनाउने उद्देश्यले त्रिपक्षीय पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत भरतपुरमा छलफल कार्यक्रम भइरहेको छ।

भरतपुर महानगरपालिकाको आयोजनामा भइरहेको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख कल्पना हरिजन, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललगायत तीनवटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, पर्यटन बोर्डका प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको छ।

कार्यक्रममा तीनवटै नगरपालिकाका पर्यटन सम्भावना, अनुभव र अवसरबारे छलफल भइरहेको छ। पर्यटन क्षेत्रको विकासका लागि स्थानीय तहबीच आपसी सहकार्य, समन्वय र साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल केन्द्रित छ।

पोखरा, भरतपुर र लुम्बिनीलाई जोडेर पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, एकअर्काका पर्यटन अनुभव तथा सम्भावनाको आदानप्रदान गर्ने र संयुक्त पहलमार्फत पर्यटन गतिविधि विस्तार गर्ने लक्ष्य कार्यक्रमले लिएको छ।

यसअघि, पोखरा महानगरपालिकाद्वारा सञ्चालित ‘पोखरा भ्रमण वर्ष’ को संयोजनमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

समझदारी पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्र सेन अधिकारी तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले हस्ताक्षर गरेका छन् ।

Exit mobile version