जापानमा पर्वको रथ दुर्घटना : दुई जनाको मृत्यु, १६ घाइते

जापानको पश्चिमी ओसाका प्रिफेक्चरका दुई सहरमा परम्परागत पर्वका क्रममा रथ पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

इजुमिसानो सहरमा पर्वमा सहभागी ५१ वर्षीय एक पुरुष आफू सवार रथ पल्टिँदा त्यसको तल च्यापिएका थिए । उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

त्यस्तै, इजुमिओत्सु सहरमा भएको अर्को दुर्घटनामा रथ पल्टिएर तल च्यापिँदा ४८ वर्षीय एक पुरुषको मृत्यु भएको छ । प्रिफेक्चरल प्रहरीका अनुसार उक्त घटनामा अन्य नौ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुवै दुर्घटना पर्वको प्रमुख आकर्षण मानिने ‘यारिमावाशी’का क्रममा भएको आशंका गरिएको छ। यस परम्परामा सहभागीहरूले ‘दान्जिरी’ नामक परम्परागत रथलाई तीव्र गतिमा तान्दै सडकका मोडहरूमा घुमाउने गर्छन् ।

तीव्र गतिमा रथ मोड्ने क्रममा सवार व्यक्तिहरूले सन्तुलन गुमाउँदा रथ पल्टिएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

दुवै घटनाको कारण र दुर्घटनाको वास्तविक परिस्थिति पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । एजेन्सी

Exit mobile version