टिकटकमार्फत ‘सन्ध्या कलेक्सन’को नाममा अनलाइन ठगी गर्ने १७ वर्षीय पक्राउ

सामाजिक सञ्जाल टिकटकमार्फत अनलाइन ठगी गरेको आरोपमा कास्की प्रहरीले एक जना बालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार टिकटकमा ‘Sandhya Collection’ (@sandhyacollection35) नामको आईडीबाट विभिन्न किसिमका कपडाहरू सस्तो मूल्यमा बिक्रीमा रहेको देखाई खरिद गर्न चाहने व्यक्तिहरूसँग ह्वाट्सएपमार्फत कुराकानी गरी ठगी गरिएको थियो।

ठगीमा संलग्न व्यक्तिले ह्वाट्सएप नम्बरमार्फत कुराकानी गरी रकम जम्मा गर्न लगाउने र रकम प्राप्त नभएको भन्दै ओटीपी कोड मागेर ठगी गरेको भन्ने जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्की र नेपाल प्रहरी साइबर ब्यूरो भोटाहिटी, काठमाडौंको समन्वयमा ह्वाट्सएप नम्बरको आईपी एड्रेस अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहेको आरोपमा धनुषा जनकनन्दिनी गाउँपालिका–१ का १७ वर्षीय बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

धनुषा प्रहरीको सहयोगमा उनलाई असोज १९ गते आफ्नै घरबाट पक्राउ गरी ठगीमा प्रयोग भएको दुई थान मोबाइल, सामसुङ कम्पनीको एक थान ट्याब र एक थान वाइफाइ राउटर बरामद गरिएको छ।

पक्राउ परेका बालकलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट ठगीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीले ठगीमा प्रयोग भएका विभिन्न बैंक तथा डिजिटल वालेट खातामा रकम जम्मा गरेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क गर्न अनुरोध गरेको छ।

Scroll to Top