बैंकको कर्मचारी बनेर ‘केवाइसी अपडेट’ गर्ने बहानामा सर्वसाधारणको खाताबाट रकम चोरी गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले उनीहरूलाई चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।
पक्राउ पर्नेहरूमा बाराको देउताल गाउँपालिका वडा नम्बर ४ बस्ने २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका वडा नम्बर १६ का २२ वर्षीय जय कुमार केवट, सोही नगरपालिकाको वडा नम्बर १७ का २२ वर्षीय विद्या सागर केवट र पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ३ बस्ने २७ वर्षीय कुवेर थापा छन् ।
उनीहरूलाई साइबर ब्यूरोबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा साउन ३१ गते पक्राउ गरेको हो ।
ब्यूरोका अनुसार यो समूहले बहालवाला तथा सेवानिवृत्त कर्मचारीहरूलाई लक्षित गरी ठगी गर्ने गरेको थियो । उनीहरूले पीडितलाई फोन तथा ह्वाट्सएप कल गरी ‘बैंकबाट बोलेको हुँ, केवाइसी अपडेट गर्नु पर्छ’ भन्दै प्रलोभनमा पार्ने गर्थे ।
त्यसपछि ‘स्क्रिन सेयर’ गर्न लगाई ‘ओटिपी कोड’ प्राप्त गर्ने वा ‘ओटिपी कोड’ मागेर कर्मचारीहरूको बैंक खातामा अनधिकृत पहुँच पुर्याउने गरेको ब्यूरोले बताएको छ । खाताको पहुँच पाएपछि उनीहरूले रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने गरेको प्राविधिक विश्लेषणबाट खुलेको छ ।
पक्राउ परेका चारै जनालाई काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको अनधिकृत पहुँच र विद्युतीय माध्यम सम्बन्धी ठगी कसुर मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।
साइबर ब्यूरोले यस्ता शंकास्पद फोन वा सन्देशको पछि नलाग्न र आफ्नो व्यक्तिगत विवरण तथा ओटिपी कोड कसैलाई सेयर नगर्न समेत अनुरोध गरेको छ ।







