प्रविधिको विकाससँगै पछिल्लो समय अनलाइन ठगी (साइबर क्राइम)का नयाँ र जटिल रूपहरू सतहमा आउन थालेका छन्।
सामाजिक सञ्जालमार्फत् हुने यस्ता ठगीको एउटा भयावह उदाहरण हालै कास्कीमा देखिएको छ, जहाँ एक महिलाले अपरिचित व्यक्तिको प्रलोभनमा परेर ३१ लाख रुपैयाँ गुमाउनु परेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार ती महिलाको ठगीको कथा फेसबुकबाट सुरू भएको थियो।
बेलायत (यूके)को कोड भएको ह्वाट्सएप नम्बर प्रयोग गर्ने एक व्यक्तिले आफू अविवाहित रहेको र बेलायतमा अथाह सम्पत्ति रहेको भन्दै उनीसँग मित्रता गाँसेका थिए। कुराकानीकै क्रममा ती व्यक्तिले आफू बेलायतको सम्पूर्ण सम्पत्ति बेचेर नेपाल आउन लागेको र नेपालमै घरजग्गा किनेर उनीसँगै जीवन बिताउने आश्वासन दिएका थिए।
महिलालाई विश्वस्त तुल्याउन ती व्यक्तिले विमानस्थलका भिडिओहरू पठाउने र भिडिओ कल गर्ने समेत गरेका थिए।
केही समयपछि उनले आफू भारतको बाटो हुँदै नेपाल आउन लागेको जानकारी दिए। लगत्तै, भारतीय प्रहरीको पोसाक लगाएको प्रोफाइल तस्बिर (डिपी) भएको ह्वाट्सएप नम्बरबाट ती महिलालाई फोन आयो।
फोनमा भनिएको थियो, ‘तपाईंको साथी ठूलो परिमाणको नगद र सम्पत्ति सहित समातिएका छन्, उनलाई छुटाउन भन्सार र जरिवाना बापत रकम तिर्नुपर्छ।’
आफ्नो भावी श्रीमान ठानिएका व्यक्ति समस्यामा परेको ठानेर ती महिलाले सुरूमा पटक–पटक गरी ९ लाख रुपैयाँ पठाइन्। यति रकम पठाएपछि आफू ठगिएको आशङ्कामा उनी जिल्ला प्रहरी कार्यालय कास्की पुगिन्।
प्रहरीले अनुसन्धान गरी यो स्पष्ट रूपमा ठगी भएको र अब थप एक रुपैयाँ पनि नपठाउन उनलाई सचेत गरायो। तर ठगको मनोवैज्ञानिक प्रभाव यति बलियो थियो कि प्रहरीको चेतावनीका बाबजुद ती महिलाले पुनः २२ लाख रुपैयाँ पठाइन्।
प्रहरीकाअनुसार ती व्यक्तिले ‘म अब निस्कन लागेँ, बाँकी २२ लाख दिएपछि सबै सम्पत्ति लिएर तिमीकहाँ आउँछु’ भनी भावनात्मक ब्ल्याकमेल गरेका थिए।
अन्ततः ३१ लाख रुपैयाँ गुमाएपछि र भारतीय प्रहरीसँगको समन्वयमा उक्त व्यक्ति अपराधी भएको पुष्टि भएपछि मात्र ती महिलाले आफू ठगिएको यथार्थ स्वीकार गरिन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार यो घटना एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो।
अहिले बजारमा ठगीका अनेकौँ शैलीहरू सक्रिय छन्।
फेसबुक र टिकटकमा सस्तो सामानको विज्ञापन राख्ने, अर्डर गरेपछि ‘पैसा आएन’ भन्दै स्क्रिन सेयर गर्न लगाउने र मोबाइलमा आएको ओटिपीमार्फत बैंक खाताबाट पैसा उडाउने गरिएको छ।
नजिकका साथी वा आफन्तको फेसबुक र ह्वाट्सएप ह्याक गरी ‘म संकटमा छु, तुरून्तै पैसा पठाइदेऊ’ भन्दै म्यासेज गरेर पैसा असुल्ने गरिएको छ।
आकर्षक देशहरूको लोभ देखाएर नक्कली कागजात बनाउने र प्रोसेसिङका नाममा मोटो रकम ठग्ने गिरोह उत्तिकै सक्रिय छ।
बैंक वा ई–सेवा, खल्ती जस्ता संस्थाको कर्मचारी बनेर केवाइसी अपडेट गर्ने बहानामा ओटिपी माग्ने र खाताबाट रकम स्थानान्तरण गर्ने प्रवृत्ति पनि बढेको छ।
सुरूमा सानो रकमको दोब्बर फिर्ता दिएर विश्वास जित्ने र पछि लाखौँ रुपैयाँ लिएर सम्पर्कविहीन हुने ‘अनलाइन बेटिङ’ र नक्कली लगानीका स्किमहरू पनि सक्रिय छन्।
सूचना अधिकारी पासवानले अनलाइन ठगीबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
‘कुनै पनि अपरिचित व्यक्तिले सामाजिक सञ्जालमा दिएको प्रलोभनमा नपर्नुस्। थोरै लगानीमा धेरै नाफा वा महँगो सामान सस्तोमा पाउने आश्वासन ठगीको पहिलो संकेत हो,’ उनले भने।
प्रहरीले आफ्नो बैंक खाताको विवरण, पिन नम्बर र ओटिपी कसैलाई नदिन, शंकास्पद लिङ्कहरू नखोल्न, अनधिकृत एपहरू डाउनलोड नगर्न र कुनै पनि अनलाइन कारोबार गर्नुअघि आधिकारिकता बुझ्न सर्वसाधारणलाई अपिल गरेको छ।
यदि ठगी भएको शंका लागेमा तुरून्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत कास्की प्रहरीले अनुरोध गरेको छ।
–न्युज एजेन्सी नेपाल







