पर्यटकलाई जबरजस्ती सवारी साधनमा चढ्न लगाउने तथा होटल मिलाइदिन्छु भन्दै झोला तान्ने लगायतका गतिविधि गरेको आरोपमा कास्की प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी टोलीले सोमबार पोखरा महानगरपालिका–६ स्थित पृथ्वीचोक, सभागृहचोक र सुजनाचोक क्षेत्रमा ‘स्वीप अप्रेसन’ सञ्चालन गरेको थियो।
सो क्रममा सर्वसाधारण तथा पर्यटकलाई जबरजस्ती सवारी साधनमा चढ्न खोज्ने, होटल मिलाइदिन्छु भन्दै झोला तान्ने, करकाप गर्ने तथा दुःख–हैरानी दिने १५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
नियन्त्रणमा लिइएकामध्ये सार्वजनिक सवारी साधनमा जबरजस्ती चढ्न खोज्ने तथा होटल मिलाइदिन्छु भन्दै झोला तान्ने ६ जना, एपमार्फत सेवा दिने पठाओ तथा इनड्राइभका चालक ४ जना र बोलेरो जिप चालक ५ जना रहेका छन्।
उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाममा पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पर्यटक तथा सर्वसाधारणलाई दुःख–हैरानी दिने गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी तथा कारबाहीलाई निरन्तरता दिनेछ।







