सूचना चुहाएको सुइँको पाएपछि ‘फायर’ गुहमन्त्री, कारवाहीको चेतावनी

गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाए कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका केही पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य तथा संवेदनशील सूचना चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताएका छन्।

उनले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उल्लेख गरेका छन्। पदका कारण सूचनामा पहुँच प्राप्त भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नरहेको उनको भनाइ छ।

उनले लेखेका छन्, ‘गृह मन्त्रालय र मातहतका निकाय।मा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु। जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ।’

गृह मन्त्रालय तथा मातहतका निकायमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध रोकथाम, अनुसन्धान तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक बन्न सक्ने गृहमन्त्री गुरुङले बताएका छन्।

राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने चेतावनी दिँदै उनले त्यस्ता व्यक्तिलाई कानुनको कठघरामा ल्याउने बताएका छन्।

Exit mobile version