संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज मोडलहरू अपनाएर जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न वायुसेवा निगमको व्यवस्थापनलाई निर्देशन दिइसकेको बताएका छन् ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री पौडेलले तत्कालै नयाँ जहाज किन्न सम्भव नभएको भन्दै लिजमार्फत जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न व्यवस्थापनलाई निर्देशन दिइसकेको बताएका हुन् ।
नेपालको पर्यटनलाई अघि बढाउन पनि राष्ट्रिय ध्वजावाहकको दुरावस्था सम्हाल्नुपर्ने भएकाले नयाँ गन्तव्यका लागि जहाजको संख्या थप्नुपर्ने उनले बताए ।
उनले वर्तमान सरकार गठन भएदेखि निगमलाई निर्णय प्रक्रियामा पूर्ण स्वायत्तता प्रदान गरिएको र आकस्मिक अवस्थामा निर्णय गरेर भोलिपल्ट सूचना दिए पनि हुने व्यवस्था मिलाइएको उल्लेख गरे ।
निगम चक्रीय ब्याजदर जस्तै महँगो ऋणको मारमा संस्था परेकाले त्यसलाई सम्बोधन गर्न एउटा मध्यम मार्ग पहिचान गरी ऋण व्यवस्थापन गर्ने निर्णयप्रति सरकार प्रतिबद्ध रहेको उनले बताए ।
मन्त्री पौडेलले हाल नेपालको करिब १५० अर्बको उड्डयन बजारमा नेपाल एयरलाइन्सको हिस्सा २० प्रतिशत भन्दा कम रहेकोमा, सामान्य मिहिनेत र जहाज थपेर यसलाई सजिलै ५० प्रतिशत सम्म पुर्याउन सकिने आकलन रहेको धारणा राखे ।
उनले आवश्यकता अनुसार नेपाल एयरलाइन्सको सुधारका लागि सार्वजनिक–निजी साझेदारी मोडलमा जान सकिनेबारे पनि प्रधानमन्त्रीसँग छलफल भएको उल्लेख गरे ।
संस्था नाफा कमाएर बोनस वा लाभांश बाँड्नका लागि मात्र नभई राष्ट्रिय दायित्व बोकेको संस्था भएकाले कर्मचारीहरूले नियत सफा राखेर काम गर्नुपर्ने उनको भनाइ छ ।
