‘म्यादी प्रहरीको यूनिफर्ममा घोटाला भएको उजुरी उपर छानबिन हुनैपर्छ’

– खगेन्द्र सुनार

म पहिलो संविधान सभा देखिकै संसदीय मामिलाको रिपोर्टर हुँ । भर्खर काठमाडौं आएर रिपोर्टिङ सुरु गर्दाकै बखत नेपाल प्रहरीको “सुडान भ्रष्टाचार काण्ड” चर्चामा थियो ।

तत्कालिन सार्वजानिक लेखा, राज्य व्यवस्था समितिमा यो विषयले खुबै महत्त्व पाएको थियो । समितिमा परेको उजुरी माथि छानबिन भयो । समितिले कारबाहीको लागि सिफारिस गर्यो ।

२८ करोड भन्दा धेरै भ्रष्टाचारमा अख्तियारले मुद्दा चलायो । तत्कालिन आईजिपीहरु – ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरी जेल गए ।
तत्कालिन सभासदहरुको सुझबुझपूर्ण कदमले सार्थकता पायो । आज त्यस्तै प्रकृतिको अर्को मुद्दामा संसदको सार्वजानिक लेखा समितिमा एक समिति बनेको छ ।

अहिले नै यसो भन्दा त हतार हुन सक्छ – तर जिम्मेवार जप्रतिनिधिको नाताले जनतालाई भन्नैपर्छ ।

म्यादी प्रहरीको ड्रेस खरिदमा भएको करोडौं भ्रष्टाचारको उजुरी उपर, छलफल गर्नै हुन्न, छानविन वा अध्ययन गर्नै हुन्न, प्रश्न गर्नै हुन्न लगायतका गुलिया कुरा गर्ने केही मानिसहरूको जमघटले वास्तविकता बाहिर ल्याउँछ कि सुनपानी छर्केर च्योख्याउँछ भन्नेमा गम्भीर आशंखा छ। तर मलाई नेपाली जनतामा विश्वास छ ।

म स्वयम् पनि समितिमा सदस्य छु । शून्य समयदेखि विषयलाई गम्भीतापूर्वक उठाएको कुरा यहाँहरुलाई जानकारी नै छ । २ महिनाको म्याद पाएको यो समितिले गहिरोसँग अध्ययन गर्ने छ । सत्यथत्य ल्याउने छ । यसो भन्दैगर्दा कतिपयलाई लागेको छ ।

यस्तो कुराले प्रहरीको मनोबल गीर्छ । तर कुरा त्यसो हैन, हामीले उठाएको विषय कसैको विरुद्धमा हैन । व्यक्ति वा संगठनको विरुद्धमा वा मनोबल गिराउन यसो गरिएको हैन ।

हामी त नेपाल प्रहरीको गरिमा उच्च राख्न चाहन्छौं, त्यहाँ भित्रको गलत कुरा सफा गरी प्रहरीको इज्जतलाई थप बढाउन चाहन्छौं । त्यसैले सुशासनको जिम्मा पाएको संगठन भित्रै नेतृत्व माथि उठेको प्रश्न गम्भीर हुन्छ ।

गम्भीर छानविन हुन्छ । म यो सन्देश लेख्दै गर्दा, प्वाल गरेको जुत्ता र मोजा लगाएर २४ घण्टा डिउटी गरिरहेका हजारौं सिपाही-हवल्दार सम्झिरहेको छु । हाम्रो लागि रातदिन खटेका लाखौं म्यादिलाई झल्झली सम्झेको छु ।

तीनका लालाबाला, जहान-परिवार सम्झेको छु । गरिबका छोरा-छोरीले रगत र पसिनासँग साटेको एक-एक रुपैयाँको हिसाब हुनेछ र प्रत्येक सिपाही-हवल्दारको शिर उच्च हुनेदीन आउँदैछ । गर्भमा, पिठ्यूँमा बच्चा बोकेर २-४ पैसाको मायाले म्यादी भएका प्रत्येक गरिबका छोराछोरीलाई न्याय हुनेछ ।

तर यो सबै कुराको लागि तपाईंको निगरानी जरुरी छ । जनता सचेत हुन आवश्यक छ । पद त के जिन्दगी दाउमा राख्न परेछ भने पनि म राजी छु । बस, यति हो सत्यको पक्षमा बलिदानी गर्दैगर्दा – तपाईं मेरो मृत्युको साक्षी बस्न तयार हुनुपर्छ । म परीक्षा दिन तयार छु ।

नेपाल प्रहरीको गिरेको मनोबल र झुकेको शीर उच्च राख्ने यो उपयुक्त मौका हो।

धन्यवाद,
जय नेपाल ।

Exit mobile version