पीएमले भेटे ‘एक्स्पर्ट’, प्राविधिक ज्ञानअनुसार योगदान दिन गरे आग्रह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो विज्ञता, ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्दै मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति, नयाँ विचार र विकासका विषयमा केन्द्रित हुन आग्रह गर्नुभएको हो।

छलफलमा प्रधानमन्त्री शाहले प्राविधिक विषयमा जानकार सांसदहरू मुलुकको नीति निर्माण गर्ने स्थानमा रहेकाले आफ्नो दक्षतालाई देश विकासमा उपयोग गर्नुपर्ने बताउनुभयो।

“तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,” प्रधानमन्त्री शाहले भन्नुभयो।

प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई समेत प्राथमिकतामा राख्न सुझाव दिनुभयो। निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।

उहाँले सांसदहरूलाई परिवर्तनका संवाहकका रूपमा उल्लेख गर्दै नयाँ उपाय र विचार ल्याएर त्यसको कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताउनुभयो। नयाँ सोच र योजनासहित निरन्तर काम गर्न सके पाँच वर्षमै मुलुकको विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सकिने प्रधानमन्त्री शाहको धारणा थियो।

Exit mobile version