चर्चित लोकगायक खेम सेन्चुरीलाई मंगलबार साइबर ब्यूरोले बोलाएर सोधपुछ गरेको छ । उनको एउटा गीतका विषयमा ब्यूरोमा उजुरी परेको थियो ।
सेन्चुरीको रचना, स्वर र संगीत रहेको ‘बाहुन बाजे किन कसेको’ बोलको गीत अहिले निकै चर्चामा छ । करिब एक महिनाअघि युट्यूवमा रिलिज भएको उक्त गीत र भिडिओले बाहुनहरूलाई होच्याएको भनेर हिन्दुवादी अभियन्ता सागर थापाले ब्यूरोमा उजुरी गरेका थिए ।
उक्त गीतले सनातन हिन्दूको एकता र सद्भाव विथोल्न खोजेको उनको आरोप छ । गीतमा रहेको ‘खान्छौ कि खान्नौ बंगुरको मासु, लौ खाऊ न त सुंगुरको मासु’ भन्ने पंतिमा उनले आपत्ति जनाएका छन् ।
सोही उजुरीबारे सोधपुछ र छलफलका लागि सेन्चुरीलाई बोलाइएको थियो ।
छलफलमा हिन्दु जागरण नेपालका अध्यक्ष पं. रामकृष्ण उपाध्याय, भागवत कथावाचक आचार्य मुकुन्द नेपाल, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापा, ओम सनातन संस्कृति समाजका अध्यक्ष रोजबहादुर मोक्तानलगायत हिन्दुवादी अभियन्ता उपस्थित थिए ।
छलफलमा कुनै निष्कर्ष नकिस्किएपछि आज बुधबार १ बजे पुनः दुबै पक्षलाई बोलाएर गीत संशोधन वा हटाउने विषयमा छलफल हुने बताइएको छ ।
